धम्की दिएर बयान दिन लगाएको आरोपमाथि संसदीय छानबिन गर्न आङ्देम्बेको माग

धम्की दिएर बयान दिन लगाएको आरोपमाथि संसदीय छानबिन गर्न आङ्देम्बेको माग

काठमाडौँ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले हिरासतमा रहेका इनम सापकोटालाई दबाब र धम्की दिएर आफ्नो पार्टी सभापति गगन थापालगायतविरुद्ध बयान दिन बाध्य पारिएको भन्ने आरोप गम्भीर भएको भन्दै संसदीय छानबिन समिति गठनको माग गरेका छन् ।

सापकोटाले आफ्नी श्रीमतीमार्फत शुक्रबार (मंसिर ११) राष्ट्रिय मानव अधिकार आयोगमा दिएको निवेदनमा कांग्रेस सभापति थापालगायत व्यक्तिविरुद्ध बयान दिए छाडिदिने र नत्र फसाइदिने धम्की दिइएको विषय उल्लेख भएपछि आङ्देम्बेले आरोपको निष्पक्ष छानबिनका निम्ति संसदीय समितिको माग गरेका हुन् ।

उनले सत्तापक्षबाटै बयानको पटकथा तयार पार्ने, हिरासतमा रहेका इमनलाई तयार पारिएको कागज पढ्न लगाउने र नमाने फसाइदिने धम्की दिने काम भएको सत्य भए त्यो विधिको शासनमाथिको गम्भीर प्रहारको रूपमा लिइने बताएका छन् । “सरकार इनम सापकोटा प्रकरणको निष्पक्ष अनुसन्धान गरिरहेको छ कि नियोजित रूपमा फसाउने षड्यन्त्रको तानाबाना बुनिरहेको छ ?” उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “यदि, यस्तो भइरहेको छ भने यो केवल राजनीतिक प्रतिशोध र षड्यन्त्रको विषय मात्र होइन, राज्यका अनुसन्धानकारी निकायको विश्वसनीयता र लोकतान्त्रिक व्यवस्थामाथिकै गम्भीर चुनौती हो ।”

उनले हिरासतमा रहेका मानिसको मोबाइल अनधिकृत व्यक्तिले जफत गरी दुरुपयोग गरेको भनिएको विषय, बयान तयार पार्ने प्रक्रिया र त्यसमा संलग्न व्यक्तिहरूको भूमिका समेत छानबिनको दायरामा ल्याइनुपर्नेमा जोड दिएका छन् । राज्यका अनुसन्धानकारी निकायलाई राजनीतिक प्रतिशोधको औजार बनाउन नहुने भन्दै उनले सरकारको कार्यशैलीमाथि पनि प्रश्न उठाएका छन् । “लोकतन्त्रमा फरक विचार राख्नेलाई फसाउने पटकथा होइन, न्याय सुनिश्चित गर्ने कानुन आवश्यक छ,” उनले भनेका छन् ।

उनले सरकारलाई क्षणिक सनक र स्वेच्छाचारितामा नभई संविधान र विधिको शासनानुसार चल्न समेत आग्रह गरेका छन् ।