स्वास्थ्य समस्या देखिएका सुत्केरी महिला र नवजात शिशुको हवाई उद्धार

स्वास्थ्य समस्या देखिएका सुत्केरी महिला र नवजात शिशुको हवाई उद्धार

काठमाडौं।  रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–१० निवासी १९ वर्षीया सुत्केरी महिला र उनको नवजात शिशुमा स्वास्थ्य समस्या देखिएपछि हवाई उद्धार गरी उपचारका लागि सुर्खेत ल्याइएको छ।

सुत्केरी महिलामा स्वास्थ्य समस्या देखिनुका साथै नवजात शिशु जन्मँदा कम तौल भएको र स्वास्थ्यमा जटिलता देखिएपछि दुवैलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल, सुर्खेत ल्याइएको थियो। सुर्खेतमा नवजात शिशुको थप उपचार सम्भव नभएपछि नियमित हवाई उडानमार्फत काठमाडौंस्थित कान्ति बाल अस्पताल ल्याई उपचार भइरहेको छ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत गर्भवती तथा सुत्केरी महिलाको जीवन रक्षा र सुरक्षित मातृत्व सुनिश्चित गर्ने उद्देश्यले हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ।

दुर्गम क्षेत्रमा स्वास्थ्य जटिलतामा परेका गर्भवती तथा सुत्केरी महिला र नवजात शिशुलाई समयमै विशेषज्ञ स्वास्थ्य सेवाको पहुँचमा पुर्‍याई मातृ तथा नवजात शिशुको जीवन रक्षा गर्नु कार्यक्रमको प्रमुख उद्देश्य रहेको छ।