१० औँ राष्ट्रिय खेलकुद : फुटबलमा लिग चरणबाटै बाहिरियो कर्णाली

१० औँ राष्ट्रिय खेलकुद : फुटबलमा लिग चरणबाटै बाहिरियो कर्णाली

काठमाडाैँ । जारी १० औँ राष्ट्रिय खेलकुदमा सह–आयोजक कर्णाली प्रदेश फुटबलको लिग चरणमा प्रवेश नगरी बाहिरिएको छ । बिहीबार तेस्रो दिनको पहिलो खेलमा कर्णालीलाई गण्डकी प्रदेशले ५–० को अन्तरले पराजित गरेको हो ।

योसँगै कर्णाली प्रतियोगिताबाट बाहिरिएको छ । आजको खेल जित्नैपर्ने दबाबमा रहेको कर्णाली लिग चरणबाट बाहिरिने पहिलो टोली हो । यसअघि मंगलबार उद्घाटन खेलमा नेपाल पुलिस क्लबसँग कर्णाली ३–० ले पराजित भएको थियो । 

आजको खेलको १६ औँ मिनेटमा गण्डकीका लछु थापाले पहिलो गोल गरे । त्यसैगरी खेलको २५ औँ र ३३ औँ मिनेटमा गण्डकीका आशिष गुरुङले दुई गोल गरेर टिमलाई ३–० को अग्रता दिलाएका थिए । गण्डकीका सुदिप गुरुङले खेलको दोस्रो हाफको ५७ औँ मिनेटमा थप एक गोल गरे भने अतिरिक्त थप भएको चार मिनेटमा गण्डकीका टेगराज गुरुङले एक गोल गरेर खेलको अन्तर ५–० कायम गरेका थिए ।

आज दिउँसो २ः३० बजे हुने खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको (एपीएफ) र मधेश प्रदेश भिड्ने छन् ।