काठमाडौं। बहुप्रतिक्षित दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतका प्रतिस्पर्धा आजदेखि औपचारिक रूपमा सुरु भएका छन्। प्रतियोगिताको औपचारिक उद्घाटन आगामी मंसिर १६ गते हुने तय भए पनि खेलाडीहरूको आवास व्यवस्थापन र प्राविधिक तयारीलाई ध्यानमा राख्दै केही खेलहरू तोकिएको मितिभन्दा अगावै सञ्चालन गरिएका हुन्।
आज पहिलो दिन महिला क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस र पौडीसहितका खेलहरूको प्रतिस्पर्धा सुरु हुँदैछ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अनुसार यस पटक कुल ३२ खेलहरू समावेश गरिएको छ। जसमध्ये अधिकांश अर्थात् २३ वटा खेलहरू कर्णाली प्रदेशको राजधानी सुर्खेतमै केन्द्रित हुनेछन्। बाँकी ९ खेलहरू भने कर्णालीका सल्यान, दैलेख, कालीकोट, जुम्ला र पश्चिम रुकुमका साथै छिमेकी लुम्बिनी प्रदेशको नेपालगञ्ज र बर्दियामा सञ्चालन हुनेछन्।
प्रतियोगितामा सातवटै प्रदेश, तीनवटा विभागीय टोली र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी कुल ११ टिमहरूको सहभागिता रहनेछ। यस महाकुम्भमा ३ सय ८४ इभेन्ट्सका लागि १ हजार ३ सय ३७ पदका वास्ते खेलाडीहरूले कडा प्रतिस्पर्धा गर्नेछन्।
यस वर्षको संस्करणदेखि एउटा ऐतिहासिक निर्णय गर्दै रजत र कांस्य पदक विजेता खेलाडीहरूलाई समेत पहिलोपटक नगद पुरस्कारको व्यवस्था गरिएको छ, जसले खेलाडीहरूमा थप उत्साह थपेको छ।
प्रतियोगिताको भव्य औपचारिक उद्घाटन मंसिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित नविनर्निर्मित कर्णाली प्रदेश रंगशालामा हुनेछ भने सबै प्रतिस्पर्धाको समापन मंसिर २७ गते हुनेछ।