राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान रोहित विवाह बन्धनमा

राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान रोहित विवाह बन्धनमा

काठमडाैँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान रोहितकुमार पौडेल विवाह बन्धनमा बाँधिएका छन्। २४ वर्षीय पौडेलले प्रेमिका सिम्रन खड्कासँग थाइल्यान्डमा विवाह गरेका हुन्।

रोहितले बिहीबार सामाजिक सञ्जालमार्फत आफ्नो विवाहबारे जानकारी दिएका हुन्। उनले सिम्रनसँगको तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, ‘सपना साकार पार्ने यात्राका सहयात्रीदेखि जीवनभरका जीवनसाथीसम्म। सधैँभरिका लागि हाम्रो साथ।’

विवाह समारोहमा परिवारका सदस्य, नजिकका आफन्त तथा साथीभाइ सहभागी भएका थिए। रोहितको विवाहमा सहभागी हुन नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र सन्दीप जोरा पनि थाइल्यान्ड पुगेका थिए।

रोहित नेपाली क्रिकेटका सफल युवा खेलाडीमध्ये एक हुन्। उनले सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए।दायाँहाते ब्याटर रोहितले नेपाली टोलीको कप्तानी समेत गरेका छन्।

हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ मा रोहितले लुम्बिनी लायन्सको कप्तानी गरेका थिए। उनको नेतृत्वमा लुम्बिनी फाइनलसम्म पुगे पनि सुदूरपश्चिम रोयल्ससँग १० विकेटले पराजित भएको थियो।