भदौ २४ मा राज्य संयन्त्रले साथ दिएन: अध्यक्ष ओली

भदौ २४ मा राज्य संयन्त्रले साथ दिएन: अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनका क्रममा भदौ २४ गते राज्य संयन्त्रले साथ नदिएको गुनासो गरेका छन्। 

बिहीबार काठमाडौंमा सम्पादकसँग छलफलका क्रममा अध्यक्ष ओलीले जेनजी आन्दोलनबारे बोलेका हुन्। २०८२ भदौ २३ गते जेनजी आन्दोलन भएको थियो। आन्दोलनरत युवाको ज्यान गएपछि अर्को दिन भदौ २४ मा संसद् भवन, सिंहदरबारलगायतमा आगजनी भएको थियो। 

‘भदौ २४ गते राज्य संयन्त्रले साथ दिएन,’ तत्कालीन प्रधानमन्त्री ओलीले प्रश्न गरे, ‘राज्य संयन्त्रले साथ नदिएपछि प्राइममिनिस्टरले के गर्छ?’ त्यसपछि गठन भएको सरकारका लागि पनि आफूले सिफारिश नगरेको उनको भनाइ थियो। ‘केपी ओलीको सिफारिशमा शुशीला कार्की प्रधानमन्त्री नियुक्त, संसद विघटन भनेर झुट बोल्ने काम भयो,’ ओलीले भने। 

ओलीले भदौ २४ गते प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए। त्यसको तीन दिनपछि भदौ २७ मा पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गरेका थिए। 
त्यतिबेला आफूले संविधानभित्रबाटै समाधान खोज्न राष्ट्रपति आग्रह गरेको ओलीले सुनाए। ‘एउटा कुरा स्पष्ट हुनुस्, मैले संविधान मिच्नुहुदैन भनेर राष्ट्रपतिलाई भनेको छु,’ ओलीले थपे, ‘संविधान भित्रबाट समाधान खोज्न भनेको हुँ।’

२०७२ सालको संविधानअनुसार, प्रतिनिधि सभा सदस्य मात्रै प्रधानमन्त्री हुन पाउँछन्। त्यस्तै, पूर्वप्रधानन्यायाधीशलाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छैन। त्यतिबेला राष्ट्रपति पौडेल र प्रधानसेनापति अशोक सिग्दलले संविधानको धारा खुलाउन आग्रह गरेको उनले बताए। ‘राष्ट्रपति र सेनापतिले संविधानको धारा खुलाइदिनुस् भन्नुभयो, भए पो धारा लेख्नु,’ ओलीले भने।