काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। यसैगरी कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली कायम रहनेछ। बाँकी पहाडी तथा तराई भू-भागमा भने मौसम मुख्यतया सफा रहनेछ।
रातिको समयमा कोशी र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। साथै तराई भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।