काठमाडौं। नेपाली कांग्रेसको आधिकारिकता विवादमा निर्वाचन आयोग र सर्वोच्च अदालतमा आर्थिक चलखेल गरी निर्णय प्रभावित पारिएको भन्ने समाचारप्रति शेरबहादुर देउवा कांग्रेस निकट विभिन्न भ्रातृ संस्थाहरूले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
नेपाल महिला संघ, नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल दलित संघ, नेपाल किसान महासंघ र नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका अध्यक्षहरूले आज एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति विरोध जनाएका हुन्।
विज्ञप्तिमा लोकतान्त्रिक आन्दोलनको धरोहर र विधिको शासनको पक्षमा निरन्तर संघर्षरत नेपाली कांग्रेस पार्टीको आधिकारिकताका सम्बन्धमा निहीत स्वार्थ समूहले आर्थिक लेनदेन गरी निर्णय प्रक्रियालाई प्रभावित पार्ने कार्य अक्षम्य रहेको उल्लेख गरिएको छ।
सम्बन्धित भ्रातृ संस्थाहरूले यस्तो अवस्थामा सरकारका जिम्मेवार निकायहरूलाई सत्य, तथ्य र प्रमाणका आधारमा निष्पक्ष छानबिन गरी दोषीलाई तत्काल कानुन र कारबाहीको दायरामा ल्याउन जोडदार माग गरेका छन्।
