मंसिर दोस्रो साता प्रधानमन्त्री बालेनको भारत भ्रमण: उच्चस्तरीय कूटनीतिक गृहकार्य तीव्र

मंसिर दोस्रो साता प्रधानमन्त्री बालेनको भारत भ्रमण: उच्चस्तरीय कूटनीतिक गृहकार्य तीव्र

काठमाडौं।  प्रधानमन्त्री वालेन्द्र शाहको आगामी मङ्सिर दोस्रो साता हुने भारत भ्रमणको तयारी दुवै देशमा तीव्र पारिएको छ। भ्रमणलाई नतिजामुखी, दीर्घकालीन विकास र साझेदारीमा केन्द्रित गराउन दुवै पक्षबाट उच्चस्तरीय कूटनीतिक गृहकार्य अघि बढाइएको हो।

भारतीय पक्षले मङ्सिर दोस्रो साता (विशेष गरी मङ्सिर ७, ८ र ९ गते) लाई सम्भावित भ्रमणको मिति मानेर तयारी गरिरहेको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार दुवै देशको अनुकूलतामा छिट्टै औपचारिक मिति घोषणा गरिनेछ।

भ्रमणको वातावरण बनाउन नयाँ दिल्ली र काठमाडौंबीच दौडधुप बढेको छ। नेपालका लागि नवनियुक्त भारतीय राजदूत कार्यभार सम्हाल्न काठमाडौं आइपुगेका छन् भने भ्रमणका एजेन्डाबारे अन्तिम रूप दिन भारतका विदेश सचिव बुधबार काठमाडौं आउँदै छन्।

परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार प्रधानमन्त्री शाहको भ्रमणलाई विगतको परम्परागत दायराभन्दा माथि उठाएर ठोस नतिजा दिने खालको बनाउने योजना छ। यसअघि आफ्नो भारत भ्रमणका क्रममा भारतीय विदेशमन्त्री सुब्रमन्यम जयशङ्करसँग भएको छलफलमै यो भ्रमणलाई नतिजामुखी बनाउने सहमति भइसकेको मन्त्री खनालले जानकारी दिए।

भ्रमणका क्रममा व्यापार, पारवहन, ऊर्जा व्यापार, हवाई सञ्जाल विस्तार, विपत्पछिको पुनर्निर्माण र सीमा व्यवस्थापन जस्ता प्रमुख विषयमा छलफल हुनेछ। सन् २००९ मा भएको नेपाल-भारत व्यापार सम्झौता सन् २०३० मा नवीकरण हुने भए तापनि नेपालले केही बुँदामा परिमार्जन गरेर अहिल्यैदेखि काम गर्न चाहेको विषयलाई पनि एजेन्डामा समावेश गरिँदै छ।

यसैबिच, भारतको सहयोगमा काभ्रेको पनौतीमा निर्माण सम्पन्न भएको प्रहरी एकेडेमी लगायतका साझेदारीयुक्त परियोजनाको दुवै देशका प्रधानमन्त्रीद्वारा संयुक्त रूपमा उद्घाटन गरिने सम्भावना छ। नेपालले सहजीकरण र साझेदारीका लागि प्रस्ताव गरेको एक बिलियन डलर बराबरको सहयोग तथा वित्तीय प्याकेजका विषयमा पनि भ्रमणका क्रममा महत्त्वपूर्ण कुराकानी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।