काठमाडौँ । प्रतिपक्षी दलहरूले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति बैठक राख्न माग गरेका छन्। इनम सापकोटा प्रकरणबारे छलफल गर्नको लागि नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले बैठक राख्न माग गरेका हुन्।
नेकपा प्रमुख सचेतक युवराज दुलाल र राप्रपा संसदीय दल नेता ज्ञानेन्द्र शाहीले समितिका सभापति हरि ढकाललाई पत्र लेखेर बैठक राख्न माग गरेका हुन्। समितिका सभापतिलाई दुलालले लेखेको पत्रमा भनिएको छ, ‘प्रहरी हिरासतमा रहेका इनम सापकोटाको भनिएको अडिओ कसरी लिक भयो, यससँग जोडिएर प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनको फेसबुक स्टाटसका आधार के हुन्?’
पत्रकार गिरफ्तार हुने र छाडिने तर सरकार आफूलाई थाहा छैन भन्नेलगायत गम्भीर सवालमा गृहमन्त्री र आइजिपीलाई समिति बैठकमा उपस्थित गराएर जबाफ माग्नु र सरकारलाई जबाफदेही बनाउनको लागि बैठक आवश्यक रहेको पत्रमा उल्लेख छ।
राप्रपा दलका नेता शाहीले पनि आइजिपी र सरकारबीच देखिएको तिक्तता, पत्रकार पक्राउ गरिनु, प्रधानमन्त्रीका सल्लाहकार कुमार बेनको निवासमा हिरासतमा रहेका व्यक्तिको मोबाइल हुनु गम्भीर र चिन्ताजनक घटना भएकाले छलफल आवश्यक रहेको बताएका छन्।
यी विषयमा छलफल र आवश्यक छानबिनका लागि तत्काल समितिको बैठक राख्न माग गरेका छन्। विपक्षीले यो प्रकरणमा छलफल गर्नको लागि तत्काल संसद् अधिवेशन आह्वान गर्न समेत माग गरिसकेका छन्।