अबदेखि नागढुंगा सुरुङमार्ग प्रयोग गरेबापत शुल्क तिर्नुपर्ने, कुन सवारीलाई कति शुल्क?

अबदेखि नागढुंगा सुरुङमार्ग प्रयोग गरेबापत शुल्क तिर्नुपर्ने, कुन सवारीलाई कति शुल्क?

काठमाडौँ । नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाले नागढुङ्गा सुरुङ मार्ग प्रयोग गर्ने सवारीसाधनबाट कात्तिक १५ गतेदेखि सडक उपभोग दस्तुर (टोल शुल्क) सङ्कलन सुरु गर्ने भएको छ ।

सडक बोर्ड नेपालको कार्यकारी समितिको असोज १२ गतेको निर्णय तथा नेपाल राजपत्रमा २०७२ चैत २६ गते प्रकाशित सूचना बमोजिम यो शुल्क उठाउन लागिएको हो । यस व्यवस्थाअनुसार सवारीसाधनका विभिन्न वर्ग छुट्याइएको छ । कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रो बस र अन्य हलुका सवारीसाधनले काठमाडौँ प्रवेश गर्दा ६५ रुपैयाँ र काठमाडौँबाट प्रस्थान गर्दा ६० रुपैयाँ तिर्नुपर्नेछ ।

त्यसैगरी, मिनी बस र मिनी ट्रिपस वा ट्रकका लागि काठमाडौँ प्रवेश गर्दा १ सय १५ रुपैयाँ र प्रस्थान गर्दा ८० रुपैयाँ निर्धारण गरिएको छ । सिङ्गल रियर एक्ससल भएका बस तथा ट्रकहरूले काठमाडौँ प्रवेश गर्न २ सय ६० रुपैयाँ र प्रस्थान गर्न २ सय रुपैयाँ बुझाउनुपर्नेछ भने मल्टि एक्ससल ट्रक, अन्य भारी सवारी साधन र भारी उपकरणहरूका लागि काठमाडौं प्रवेश गर्दा ६ सय रुपैयाँ र प्रस्थान गर्दा २ सय ५० रुपैयाँ शुल्क तोकिएको छ ।