काठमाडौँ । देशका धेरै स्थानमा आज (कात्तिक १२)देखि शनिबार (कात्तिक १४)सम्म वर्षा र हिमपातको पूर्वानुमान छ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा/हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा पनि भारी वर्षा/हिमपातको सम्भावना छ । “कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशको धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ,” महाशाखाले भनेको छ ।
बंगालको खाडीमा विकसित अति शक्तिशाली चक्रवात ‘अर्नब’ हाल न्यूनचापीय क्षेत्रमा परिणत भइसकेको छ । अर्थात्, चक्रवात ‘अर्नब’ यति बेला कमजोर भएर न्यूनचापीय प्रणालीमा परिणत भइसकेको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले उल्लेख गरेका छन् ।
प्रणाली कमजोर भए पनि त्यसको प्रभावले नेपालमा उल्लेख्य वर्षा र हिमपात हुने पूर्वानुमान छ । नेपालमा ‘अर्नब’को अप्रत्यक्ष प्रभाव पर्न लागेको हो । त्यसको प्रत्यक्ष प्रभाव यहाँ नपर्ने महाशाखाले यसअघि नै स्पष्ट पारिसकेको छ ।
“बंगालको खाडीमा बनेको अति शक्तिशाली चक्रवात ‘अर्नब’ भारतको आन्ध्र प्रदेशबाट जमिन प्रवेश गरेसँगै यसको प्रभावले हाल देशभर साधारणतया बादल लागिरहेको अवस्था छ,” महाशाखाले भनेको छ ।
देशमा आज दिउँसोदेखि वर्षा सुरु हुने पूर्वानुमान छ । “आज दिउँसोदेखि वर्षा सुरु हुने र भोलि भारी वर्षाको सम्भावना बढी रहने देखिन्छ,” मौसमविद् पोखरेलले भनेका छन्, “विशेष गरी आज रातिदेखि शनिबार बिहानसम्मको अवधिमा सतर्क रहनुपर्ने देखिएको छ ।”
त्यसको प्रभावले उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी तथा हिमपहिरोको पनि जोखिम रहेको भन्दै महाशाखाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । हाल देशमा पश्चिमी वायुको पनि आंशिक प्रभाव छ । आइतबार (कात्तिक १५) भने देशमा आंशिक बादल लाग्ने र हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा हल्कासम्मको वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । “तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु/कुहिरो लाग्नेछ,” महाशाखाले भनेको छ ।