काठमाडौ । लामो समयदेखि बन्द रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको ताला बहुमत सदस्यहरूले खोलेका छन् । ठप्प रहेको फुटबल क्षेत्रलाई पुनः चलायनमान बनाउन भन्दै एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको नेतृत्वमा बहुमत सदस्यहरूले सातदोबाटोमा रहेको एन्फाको ताला खोलेका हुन् ।
साथै, उनीहरूले आगामी कात्तिक १३ गते एन्फा कार्यसमितिको बैठक बस्ने समेत जनाएका छन् । एन्फाको विधानअनुसार २१ दिनअघि एकतिहाइ बढी सदस्यहरूले कार्यसमितिको बैठक आह्वान गर्न माग गरेका थिए । बैठक आह्वान नभएपछि २२औँ दिनमा एन्फा कार्यालयको ताला खोल्दै बैठक बस्ने विषयमा छलफल भएको एन्फाका वरिष्ठ उपाध्यक्ष खड्काले जानकारी दिए ।
“एन्फामाथि लागेको प्रतिबन्ध र नेपालमा फुटबल क्षेत्रमा भइरहेको विवादको निकास दिनुपर्ने आवश्यकता रहेकाले फिफाबाट भएको प्रतिबन्ध, सरकारसँगको सहकार्य, र तहगत निर्वाचनको अवरोधलाई कसरी हटाउने भन्ने विषयमा छलफल गर्ने उद्देश्यका साथै कात्तिक १३ गते बैठक बस्नेछ,” उनले भने ।
उनले १३ गतेको कार्यसमितिको बैठकमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिव तथा अन्य सबै कार्यसमिति सदस्यहरूलाई उपस्थित भई नेपाली फुटबलको निकासका लागि एक ठाउँमा बसेर निर्णय गर्न आग्रह गरे ।
तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै फिफाले निलम्बन गरेपछि नेपाली फुटबल क्षेत्र ठप्प छ ।