ममता काफ्ले बेपत्ता प्रकरण : अदालतमा परिस्थितिजन्य प्रमाणको ओइरो, नरेशलाई कस्तो सजाय होला ?

ममता काफ्ले बेपत्ता प्रकरण : अदालतमा परिस्थितिजन्य प्रमाणको ओइरो, नरेशलाई कस्तो सजाय होला ?

भर्जिनिया । अमेरिकाको भर्जिनियास्थित मनासस पार्कमा बस्दै आएका नरेश भट्टमाथि आफ्नै श्रीमती ममता काफ्ले भट्टको हत्या गरी शव टुक्राटुक्रा पारेको गम्भीर आरोप लागेको छ। 

यसै विषयमा चलिरहेको हत्या मुद्दाको सुनुवाइ सोमबारदेखि चौथो सातामा प्रवेश गरेको छ। अभियोजनकर्ताहरूले नरेशविरुद्ध आफ्नो दाबीलाई थप बलियो बनाउन विभिन्न प्रमाण तथा साक्षीहरूलाई अदालतमा पेस गर्ने क्रम जारी राखेका छन्। अहिलेसम्म ममताको शव फेला पर्न सकेको छैन। 

यद्यपि, सुनुवाइ सुरु भएदेखि हालसम्म जुरी सदस्यहरूले ५६ जना साक्षीहरूको बयान सुनिसकेका छन्। यसका साथै उनीहरूले घण्टौँ लामा निगरानी क्यामेराका फुटेज, प्रहरीले लिएका अन्तर्वार्ता र अपराध स्थलका प्रमाणहरूको पनि गहिरो समीक्षा गरेका छन्। 

यी प्रमाणहरूमा दम्पतीको घरभित्र भेटिएका रगत जस्ता देखिने दागहरू र नरेश भट्टले विभिन्न डम्पस्टर (फोहोर फाल्ने भाँडो) हरूमा फोहोरका झोलाहरू फालिरहेको भनिएको भिडियो फुटेजसमेत समावेश छ। 

नरेश भट्टले आफूमाथि लागेका फर्स्ट डिग्री मर्डर, शव लुकाएको र शवलाई दूषित पारेको जस्ता सम्पूर्ण आरोपहरू अस्वीकार गर्दै आफू निर्दोष रहेको दाबी गरेका छन्।

सोमबार बिहानको सुनुवाइमा लाउडन काउन्टी शेरिफको कार्यालयका अपराध स्थल अनुसन्धानकर्ता ड्यानियल म्याक्सफिल्डले आफ्नो बयान दिए। उनले सन् २०२४ को अगस्ट महिनामा चान्टिलीस्थित एउटा ग्यास स्टेसनबाहिर राखिएका कपडा दान गर्ने भाँडाहरू (डोनेसन बिन) बाट सङ्कलन गरिएका प्रमाणहरूको बारेमा अदालतलाई जानकारी गराए। 

म्याक्सफिल्डले लिटिल रिभर टर्नपाइकमा रहेको लिबर्टी ग्यास स्टेसनका दुईवटा दानपेटिकाहरू खोज्नका लागि मनासस पार्क प्रहरीले आफ्नो सहयोग मागेको कुरा अदालतसमक्ष राखे। उनको बयान अनुसार एउटा बिनभित्र अनुसन्धानकर्ताहरूले कपडा जस्तो देखिने वस्तुहरू, जुत्ता र बाथ म्याटहरू भरिएका धेरै फोहोरका झोलाहरू फेला पारेका थिए। 

म्याक्सफिल्डले ती सामग्रीहरूको फोटो खिचेर, सङ्कलन गरेर र प्याकेजिङ गरेर थप अनुसन्धानका लागि मनासस पार्क प्रहरीका गुप्तचरलाई बुझाएको कुरा पनि स्पष्ट पारे।

यसैगरी, प्रिन्स विलियम काउन्टी प्रहरी विभागमा तेह्र वर्षदेखि अपराध स्थल अनुसन्धानकर्ताको रूपमा कार्यरत अलेक्ज्याण्डर कोर्डनरले पनि आफ्नो बयान दर्ता गराए। उनले सन् २०२४ को अगस्ट एक्काइस र बाइस तारिखमा भट्ट दम्पतीको घरमा गरिएको खानतलासीका क्रममा आफूले सहयोग गरेको बताए। 

कोर्डनरले ग्यारेजमा रहेको फोहोर फाल्ने भाँडोमा रगत हुन सक्ने आशङ्कामा ‘ब्लुस्टार’ नामक रासायनिक पदार्थ प्रयोग गरेर परीक्षण गरेको जानकारी दिए। उक्त रसायन प्रयोग गर्दा फोहोर फाल्ने भाँडोको भित्र र बाहिर धेरै ठाउँमा नीलो रङको चम्किलो प्रतिक्रिया देखिएको थियो। 

त्यसपछि अनुसन्धानकर्ताहरूले उक्त ठाउँबाट प्रमाण सङ्कलन गरी आधिकारिक परीक्षणका लागि फरेन्सिक प्रयोगशालामा पठाएको उनले बताए। प्रतिवादीका तर्फबाट वकिलहरूले भने उक्त परीक्षणको विश्वसनीयतामाथि प्रश्न उठाएका थिए। 

जवाफमा कोर्डनरले ‘ब्लुस्टार’ रसायन रगतबाहेक अन्य पदार्थहरूमा पनि प्रतिक्रिया देखाउन सक्ने र यसले मात्र रगत नै हो भनी शतप्रतिशत पुष्टि गर्न नसक्ने कुरा स्वीकार गरे। यो केवल प्रारम्भिक रगत परीक्षण मात्र भएको उनको भनाइ थियो। 

अनुसन्धानकर्ताहरूले घटनास्थलको प्रक्रिया पूरा गर्नुअघि नै केही प्रहरी अधिकारीहरू पञ्जाबिना नै घरको सुत्ने कोठामा प्रवेश गरेको र फर्निचरहरू छोएको विषयमा सोधिएको प्रश्नमा पनि कोर्डनरले ‘हो’ भन्दै सहमति जनाए।

अपराधस्थल अनुसन्धानकर्ता जोसेफ रेस्टिनोले पुनः अदालतको कठघरामा उभिएर अनुसन्धानका क्रममा भट्टको घरबाट सङ्कलन गरिएको चाँदी रङको कपाल कोर्ने ब्रसको बारेमा बयान दिए। रेस्टिनोले भान्साकोठानजिकै रहेको मनोरञ्जन केन्द्रको बाहिर तान्न मिल्ने तखतामा उक्त ब्रस फेला परेको बताए। 

उक्त ब्रसनजिकै ममता काफ्ले भट्टको नाम लेखिएका औषधिका बट्टाहरू पनि राखिएका थिए। ब्रसमा कालो रङका कपाल जस्ता रेशाहरू रहेको र त्यसले ममता काफ्ले भट्टको डीएनए प्रमाण उपलब्ध गराउन सक्ने अनुसन्धानकर्ताहरूको विश्वास रहेको उनले अदालतलाई बताए। 

प्रतिवादीका वकिलहरूले उक्त ब्रस साँच्चै ममताकै हो वा होइन भनी प्रश्न गरेका थिए। रेस्टिनोले उक्त ब्रस कसको हो भन्ने कुरा आफूलाई यकिन थाहा नभएको कुरा स्वीकार गरे। 

यसका साथै रेस्टिनोले जुरी सदस्यहरूलाई प्रमाणको रूपमा सङ्कलन गरिएको कार्पेट सफा गर्ने तरल पदार्थ (कार्पेट क्लिनर) को बट्टा पनि देखाएका थिए। उक्त बट्टा लगभग खाली अवस्थामा रहेको उनले जानकारी दिए।

मनासस पार्क प्रहरी विभागका नौ वर्षका अनुभवी अधिकारी स्टिफन अक्सेन्डाइनले ममता काफ्ले भट्टको बेपत्ता प्रकरणको अनुसन्धानमा आफूले पुर्याेएको सहयोग र अनुसन्धानमा भएका केही महत्त्वपूर्ण विकासक्रमका बारेमा बयान दिए। अक्सेन्डाइनले नरेश भट्टले सन् २०२४ को अगस्ट सोह्र तारिखमा आफ्नो टेस्ला कार ‘कारम्याक्स’ लाई बेचेको जानकारी दिए। 

पछि अनुसन्धानकर्ताहरूले उक्त गाडीलाई स्टर्लिङस्थित एउटा स्थानबाट बरामद गरी फरेन्सिक परीक्षणका लागि पठाएका थिए। उनले चान्टिलीस्थित कपडा दान गर्ने बिनहरूबाट बरामद गरिएका प्रमाणहरूको बारेमा पनि बोले। त्यहाँ एउटा सेतो रङको फोहोरको झोला र रगत लतपतिएको जस्तो देखिने बाथ म्याट फेला परेको थियो। अनुसन्धानकर्ताहरूले सामाजिक सञ्जालका तस्बिरहरूमा ममता काफ्ले भट्टले लगाएको जस्तै देखिने एउटा परम्परागत नेपाली पोसाक पनि फेला पारेका थिए। यद्यपि ती कपडाहरू उनकै हुन् वा होइनन् भन्ने कुरा स्पष्ट नभएको अक्सेन्डाइनले बताए। 

ममता देशबाहिर गएको हुन सक्ने आशङ्कामा उनले सन् २०२४ को अगस्टमा अध्यागमन तथा भन्सार प्रवर्तन (आईस) लाई सम्पर्क गरी ममताको जानकारीमा निगरानी राख्न आग्रह गरेको पनि खुलासा गरे। उनले ममता देशबाहिर गएको कुनै सङ्केत आइसले नदिएको स्पष्ट पारे।

खानतलासी वारेन्टमार्फत प्राप्त गरिएको नरेश भट्टको मोबाइल फोनको डाटाबाट अनुसन्धानकर्ताहरूले बाल्टिमोरस्थित एउटा ठेगानाको बारेमा पत्ता लगाएको पनि अक्सेन्डाइनले बताए। उनको बयानपछि मनासस पार्क प्रहरीका डेपुटी थोमस ह्विलरलाई फेरि बयानका लागि बोलाइएको थियो। 

उनले पनि सेल फोनको डाटाबाट बाल्टिमोरको ठेगानाको बारेमा थाहा पाएको बताए। यद्यपि, यस ठेगानाको बारेमा थप कुनै विस्तृत विवरण भने अदालतमा खुलाइएन।

सोमबारको सुनुवाइमा सबैभन्दा ठूलो र महत्त्वपूर्ण खुलासा यस मुद्दाकी प्रमुख अपराध स्थल अनुसन्धानकर्ता एन्ड्रिया फेल्डम्यानको तर्फबाट भयो। उनले प्रमाणको रूपमा सङ्कलन गरिएको हरियो रङको रियोबी ब्रान्डको स (करौँती) लाई खोलेर हेर्दा फेला परेका कुराहरूको बारेमा बयान दिइन्। 

फेल्डम्यानले करौँतीभित्र रातो–खैरो रङका दागहरू फेला पारेको र ती दागहरू रगत हुन सक्ने आफ्नो विश्वास रहेको बताइन्। यसका साथै त्यहाँ लगभग एकदेखि दुई इन्च लामा कपाल जस्ता धेरै रेशाहरू पनि फेला परेका थिए। 

शङ्कास्पद रगत मुख्यतया करौँतीको बिँड र हावा छिर्ने प्वाल (भेन्ट) नजिकै फेला परेको थियो भने ती रेशाहरू करौंतीको अगाडि र बीचको भागमा केन्द्रित रहेको उनले बयानमा खुलाइन्। अनुसन्धानलाई छिटो अघि बढाउने उद्देश्यले आफूले उक्त सम्पूर्ण उपकरण नै फरेन्सिक विज्ञान विभागलाई बुझाएको उनले बताइन्। 

उनले दम्पतीको सुत्ने कोठाको दराजबाट बरामद गरिएका झ्यालका पर्दा (ब्लाइन्ड्स) हरू र चान्टिलीका दानपेटिकाहरूबाट सङ्कलन गरिएका सेता फोहोरका झोलाहरूमा देखिएका शङ्कास्पद रगतका दागहरूको बारेमा पनि अदालतलाई जानकारी गराइन्। 

नरेश भट्टले अगस्ट २०२४ मा बेचेको नीलो रङको टेस्ला कारको सन्दर्भमा बोल्दै फेल्डम्यानले उक्त गाडी निकै सफा गरिएको अवस्थामा भेटिएको बताइन्। अनुसन्धानकर्ताहरूले कारभित्र कुनै पनि महत्त्वपूर्ण प्रमाण फेला पार्न सकेनन् र ब्लुस्टार परीक्षण गर्दा पनि रगत हुन सक्ने कुनै सकारात्मक प्रतिक्रिया देखिएन। 

यसैगरी, होम डिपोको कर्पोरेट सुरक्षा अनुसन्धान टोलीका सदस्य मार्क म्याथ्यू हर्नान्डेजले सन् २०२४ को जुन २ तारिखमा फेयरफ्याक्स स्टोरबाट रियोबी ब्रान्डको करौँती, त्यसको ब्लेड र ब्याट्री किट खरिद गरिएको विषयमा बयान दिए। हर्नान्डेजले स्टोरको रसिद र निगरानी क्यामेराको फुटेजको समीक्षा गरेका थिए। 

उक्त फुटेजमा नरेश भट्ट जस्तै देखिने एक व्यक्तिले प्राइस क्लब प्लाजामा रहेको होम डिपोभित्र करौंती, ब्याट्री र ब्लेड बोकिरहेको देखिएको थियो। ममता बेपत्ता भएपछि नरेशले उक्त करौँती एक जना ल्यान्डस्केपरलाई दिएका थिए भने पछि ती व्यक्तिले प्रहरीलाई बुझाएका थिए। उक्त करौँती कुनै मानव शरीरलाई टुक्राटुक्रा पार्न प्रयोग गर्न सकिन्छ वा सकिँदैन भनी सोधिएको प्रश्नमा हर्नान्डेजले ‘मलाई त्यस्तै लाग्छ’ भन्दै जवाफ दिएका थिए।

मनासस पार्क सहरका सार्वजनिक निर्माण विभागका सुपरिटेन्डेन्ट वेन मार्टिनले जुलाई ३१, २०२४ मा भट्टको घरमा पानीको खपतमा आएको अस्वाभाविक वृद्धिको बारेमा बयान दिए। मार्टिनले अदालतमा प्रस्तुत गरेको तथ्याङ्क अनुसार उक्त दिन जम्मा दुई घण्टाको अवधिमा करिब एक सय साठी ग्यालन पानी प्रयोग भएको थियो। 

जसमा दिउँसो बाह्र बजेदेखि एक बजेको बिचमा मात्रै एक सय एघार ग्यालनभन्दा बढी पानी खपत भएको थियो। सामान्यतया भट्टको घरमा प्रतिघण्टा दुईदेखि तीस ग्यालन पानी खपत हुने गरेको तथ्याङ्कले देखाउँथ्यो। 

मार्टिनले यति धेरै मात्रामा पानी प्रयोग हुनुलाई एउटा आवासीय घरका लागि असाधारण भन्दै यसलाई ‘धारा पूरै खोलेर छोडेको वा प्लम्बिङमा गम्भीर समस्या आएको’ अवस्थासँग तुलना गरे। उनले पानीको यो खपत सामान्य व्यक्तिगत प्रयोगसँग मेल नखाने कुरा पनि स्पष्ट पारे। 

यद्यपि, अर्को घण्टामा पानीको खपत सामान्य स्तरमा झरेकाले उनले घरमा कुनै प्लम्बिङ समस्या भएको आशङ्का भने गरेका थिएनन्। प्रतिवादीका वकिलहरूले जिरह गर्ने क्रममा मार्टिन कहिल्यै पनि घरमा गएर त्यहाँ कुनै पाइप चुहिएको वा स्प्रिंकलरमा समस्या रहे/नरहेको विषयमा जाँच नगरेको कुरा औंल्याएका थिए। 

मार्टिनले आफूले एक वर्षको पूर्ण डाटा नभई करिब एक महिनाको मात्र पानीको खपत रेकर्ड हेरेको कुरा स्वीकार गरे।

स्थानीय नेपाली समुदायका सदस्य, सेनाका पूर्व अधिकारी तथा घरजग्गा व्यवसायी आशिष सङ्ग्रौलाले पनि सोमबार अदालतमा उपस्थिति जनाए। उनले नरेश भट्टसँगको आफ्नो सम्बन्ध र ममता काफ्ले भट्टसँगको नरेशको वैवाहिक जीवनका विषयमा रहेका चिन्ताहरूबारे बयान दिए। 

ममता काफ्ले भट्टको फोन आएपछि आफू यूभीए अस्पताल गएको घटना सङ्ग्रौलाले स्मरण गरे। त्यतिबेला नरेश भट्ट बिरामीको रूपमा उपचाररत रहेको उनले बताए। 

अस्पतालबाट नरेशलाई बाहिर निकाल्न सहयोग गर्दा आफूले नरेशको शरीरबाट रक्सीको गन्ध आएको महसुस गरेको सङ्ग्रौलाले बयानमा उल्लेख गरे। यसका साथै, सन् २०२४ मा नरेशले फेसबुकमा ममतालाई आफ्नो जीवन ‘बर्बाद’ गरिदिएकोमा धन्यवाद दिँदै लेखेको एउटा पोस्ट देखेको पनि उनले स्मरण गरे। 

उक्त पोस्ट व्यङ्ग्यात्मक जस्तो देखिएको र पछि त्यसलाई हटाइएको सङ्ग्रौलाले बताए। उक्त पोस्टपछि सङ्ग्रौला र अर्का एक साथीले स्टारबक्समा नरेशलाई भेटेर के भइरहेको छ भनी सोधपुछ गरेका थिए। 

सङ्ग्रौलाका अनुसार उक्त भेटमा नरेशले आफूहरूबिच वैवाहिक समस्या रहेको र घरमा झगडा पर्ने गरेको कुरा स्वीकार गरेका थिए। सङ्ग्रौलाले अगस्ट ४, २०२४ को राति आफूले नरेशलाई धेरै पटक फोन गर्ने प्रयास गरेको तर सम्पर्क हुन नसकेको कुरा पनि अदालतलाई जानकारी गराए। 

भोलिपल्ट बिहान नरेशले उनलाई फोन फर्काएका थिए। ममता बेपत्ता हुँदा पनि नरेशले किन प्रहरी वा साथीभाइलाई खबर नगरेको भन्दै आफूले प्रश्न गरेको सङ्ग्रौलाले बताए। प्रतिवादीका वकिलहरूले गरेको जिरहका क्रममा सङ्ग्रौलाले नरेश वा ममताले एकअर्काप्रति हिंस्रक व्यवहार गरेको आफूले कहिल्यै प्रत्यक्ष रूपमा नदेखेको कुरा स्वीकार गरे। सङ्ग्रौलाले सन् २०२४ यता ममता काफ्ले भट्टसँग आफ्नो कुनै सम्पर्क नभएको पनि स्पष्ट पारे।

सोमबार दिउँसो ह्वाइट हाउस मिलिटरी अफिसमा कार्यरत बीस वर्षे नौसेनाका पूर्व अधिकारी ड्यानियल चार्ल्स मूरले अर्को गम्भीर बयान दिए। उनले श्रीमती बेपत्ता हुनुभन्दा करिब तीन महिना अघि नरेश भट्टले आफ्नो कामको खाताबाट गुगलमा गरेका सर्चहरूको बारेमा अदालतलाई जानकारी गराए। 

मूरलाई सन् २०२४ को जनवरीदेखि अगस्टसम्म नरेश भट्टको सर्च हिस्ट्री समीक्षा गर्न निर्देशन दिइएको थियो। सोही क्रममा उनले केही चिन्ताजनक सर्चहरू पहिचान गरेको बताए। 

मूरका अनुसार नरेशले अप्रिल १२, २०२४ मा गुगलमा ‘मृत्यु भएको जीवनसाथीको ऋण के हुन्छ’, ‘जीवनसाथीको मृत्युपछि अर्को विवाह गर्न कति समय लाग्छ’, ‘जीवनसाथी मरेपछि विवाह गर्न कति समय लाग्छ’ र ‘प्रेमिकालाई नयाँ वर्षको शुभकामना सन्देश’ जस्ता कुराहरू सर्च गरेका थिए। 

जीवनसाथीको मृत्युपछि विवाह गर्न लाग्ने समयका विषयमा नरेशले किन यस्तो सर्च गरे होलान् भनी अभियोजन पक्षले सोधेको प्रश्नमा मूरले ‘यो कुरा राम्रो सङ्केत होइन’ भनी जवाफ दिए। मूरले नरेशले यात्राका मार्गहरू, विभिन्न स्थानहरू र आफ्नै नामको बारेमा पनि गुगलमा खोजेको प्रमाण पेस गरे। 

प्रतिवादीको जिरहको क्रममा मूरले आफू नरेश भट्टको पछाडि उभिएर नहेरेको हुनाले ती प्रश्नहरू ठ्याक्कै कसले लेखेको हो भनी ठोकुवा गर्न नसक्ने कुरा भने स्वीकार गरे।

यसअघि बयान दिएका आशिष सङ्ग्रौलाकी श्रीमती दीपा ओलीले पनि सोमबार अदालतमा उपस्थित भई बयान दिइन्। उनले ममता काफ्ले भट्ट बेपत्ता हुनुभन्दा अघिका महिनाहरूमा भट्ट दम्पतीको समस्याग्रस्त वैवाहिक जीवनको बारेमा बोलिन्। 

ओलीले सन् २०२४ को फेब्रुअरी महिनामा आफूलाई उनीहरूको वैवाहिक समस्याको बारेमा थाहा भएको र चिन्ता लागेर ममतालाई सम्पर्क गरेको बताइन्। दम्पतीसँगको कुराकानीका क्रममा नरेश भट्टले आफू अब ममतासँगको सम्बन्धलाई निरन्तरता दिन नचाहेको बताएको ओलीले बयान दिइन्। 

नरेशले उनीहरूबीच हुने झगडालाई कारण माने पनि कुनै विशेष उदाहरण भने नदिएको उनले स्पष्ट पारिन्।

समग्रमा भन्नुपर्दा अभियोजन पक्षले नरेश भट्टलाई एक दुर्व्यवहार गर्ने श्रीमान्‌को रूपमा प्रस्तुत गर्दै आएको छ। उनले आफ्नी श्रीमती बेपत्ता भएको विषयमा पटकपटक फरकफरक स्पष्टीकरण दिने गरेको अभियोजन पक्षको दाबी छ। 

पानीको अत्यधिक खपत भएको प्रमाण पेस गर्दै अभियोजनकर्ताहरूले नरेश भट्टले आफ्नी श्रीमतीको हत्या गरेर शव टुक्राटुक्रा पारी घर सफा गरेको कुरा जुरीलाई विश्वस्त पार्ने प्रयास गरेका छन्। ममता भट्टलाई अन्तिम पटक जुलाई २९, २०२४ मा भिडियो कलमा देखिएको थियो। 

उनी आफ्नी छोरीको पहिलो जन्मदिन आउनुभन्दा केही हप्ता अघि मात्रै बेपत्ता भएकी थिइन् र प्रहरीले उनको शव फेला पार्न सकेको छैन। 

परिस्थितिजन्य प्रमाणहरूको आधारमा प्रिन्स विलियम काउन्टीका अभियोजनकर्ताहरूले ३९ वर्षीय नरेश भट्टविरुद्धको मुद्दालाई मजबुत बनाउन निरन्तर प्रयास गरिरहेका छन्। यस बहुचर्चित मुद्दाको सुनुवाइ सर्किट कोर्टकी न्यायाधीश किम्बर्ली इरभिङको इजलासमा चलिरहेको छ।