अब जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि पाइने

अब जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि पाइने

काठमाडौं । अब नागरिकताको प्रतिलिपि जुनसुकै जिल्लाबाट पाइने भएको छ । नेपाल सरकारको १०० बुँदे शासकीय सुधारको प्रतिबद्धता तथा नेपाल नागरिकता (पाँचौं संशोधन) नियमावली, २०८३ बमोजिम सेवाग्राहीले देशका जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि लिन सक्ने छन्। 

नागरिकताको प्रमाणपत्र आगोले जलेर, पानीले भिजेर नष्ट भएमा, च्याडिएर काम नलाग्ने भएमा, हराएमा, नयाँ ढाँचामा आवश्यक परेमा वा अन्य कुनै कारणले प्रतिलिपि लिनुपर्ने अवस्थाका व्यक्तिहरूका लागि यो व्यवस्था लागू गरिएको हो।

यस व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि गृह मन्त्रालयको गत सोमबारको परिपत्रअनुसार काठमाडौं उपत्यकामा बसोबास गर्ने अन्य जिल्लाका नागरिकहरूको भिडभाड तथा चापलाई ध्यानमा राख्दै सेवा प्रवाहलाई व्यवस्थित गरिएको छ। जसअनुसार उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयहरूबाट प्रदेशगत रूपमा सेवा प्रवाह मिलाइएको छ  । 

जसअनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट बागमती, गण्डकी र लुम्बिनी प्रदेशका जिल्लाका नागरिकहरूले सेवा पाउनेछन्। जिल्ला प्रशासन कार्यालय ललितपुरबाट कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लाका सेवाग्राहीहरूले सेवा पाउनेछन्। यस्तै जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट कोशी र मधेश प्रदेशका जिल्लाका नागरिकलाई सेवा उपलब्ध गराइनेछ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयमा आवेदन दिने बागमती, गण्डकी र लुम्बिनी प्रदेशका नागरिकहरूको जैविक विवरण राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली र केन्द्रीय नागरिकता सूचना व्यवस्थापन प्रणालीमा भएको विवरणसँग हुबहु मिलेको अवस्थामा सहजै प्रतिलिपि जारी गरिनेछ।

तर, अभिलेख नमिलेको वा अभिलेखमा उल्लेख भएभन्दा फरक नाम, थर, जन्ममिति वा अन्य विवरण साविकको नागरिकताभन्दा फरक माग गरी सच्याएर प्रतिलिपि लिन चाहेमा वा प्रथम दृष्टिमा नै शंकास्पद देखिएका आवेदकहरूले भने साविकमा जुन जिल्लाबाट नागरिकता प्राप्त गरेको हो, सोही जिल्लामा नै सम्पर्क गर्नू पर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको सुचनामा उल्लेख गरिएको छ।