सुदूरपश्चिममाथि डिफेन्डिङ च्याम्पियन लुम्बिनीको शानदार जित

सुदूरपश्चिममाथि डिफेन्डिङ च्याम्पियन लुम्बिनीको शानदार जित

काठमाडौं। साविक विजेता लुम्बिनी लायन्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा विजयी सुरुआत गरेको छ। त्रिभुवन विश्वविद्यालय (टियु) अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको हो।

सुदूरपश्चिमले दिएको ८८ रनको सामान्य लक्ष्य लुम्बिनीले ९ ओभर ५ बलमा मात्र ३ विकेट गुमाएर सहजै पूरा गर्यो।

लुम्बिनीको जितमा ओपनर डार्सी सर्टले विस्फोटक ब्याटिङ गरे। उनले मात्र १८ बलमा ४ चौका र ३ छक्काको मद्दतले सर्वाधिक ४० रन बनाए। डार्सीले अर्का ओपनर आसिफ शेखसँग पहिलो विकेटका लागि ७१ रनको साझेदारी गर्दै टोलीलाई बलियो स्थितिमा पुर्‍याएका थिए। आसिफ ३२ रनमा आउट भए भने निरोशन डिक्वेला ७ रनमा बोल्ड हुन पुगे। शमिम हुसेन १ र कप्तान रोहित पौडेल ५ रनमा अविजित रहे। बलिङतर्फ सुदूरपश्चिमका अनिल खरेलले २ तथा कप्तान दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम १७ ओभर २ बलमा जम्मा ८७ रनमा समेटिएको थियो। सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन र अनिल खरेलले अविजित १७ रन बनाए। यस्तै, सैफ जैवले १३ रन तथा विनोद भण्डारीले ९ रन जोडे। अन्य ब्याटरहरू ब्रान्डन म्याकमुलेन (२ रन), इशान पाण्डे (७ रन) र शेर्फन रदरफोर्ड (१ रन) सस्तैमा पभेलियन फर्किए भने स्कट कुइगेलेइन र हेमन्त धामीले खाता नै खोल्न सकेनन्।

सुदूरपश्चिमलाई सस्तैमा समेट्न लुम्बिनीका किशोर महतो र शेर मल्लले उत्कृष्ट बलिङ गरे। किशोरले ४ र शेरले ३ विकेट लिए भने कप्तान रोहित पौडेल, तिलकराज भण्डारी र शाड्ली भान शाकवाइकले समान १–१ विकेट हात पारे।

यसै खेलमार्फत नेपालमा पहिलो पटक प्रयोगमा आएको डिसिजन रिभ्यू सिस्टम (डीआरएस) को प्रयोग लुम्बिनी लायन्सले गर्‍यो। दोस्रो ओभरको अन्तिम बलमा लुम्बिनीका बलर शेर मल्लले एलबीडब्लुको अपिल गरे पनि अम्पायरले आउट नदिएपछि कप्तान रोहित पौडेलले डीआरएस लिएका थिए। तर, उक्त रिभ्युमा लुम्बिनी सफल हुन सकेन।

प्रतियोगिताअन्तर्गत मङ्गलबार दुई खेल हुनेछन्। पहिलो खेल दिउँसो १२:३० बजे विराटनगर किंग्स र चितवन राइनोजबिच हुनेछ भने दोस्रो खेल साँझ ५:०० बजे कर्णाली याक्स र जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा हुनेछ।