एनपीएल : लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ८७ रनमा गर्‍यो अलआउट

एनपीएल : लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ८७ रनमा गर्‍यो अलआउट

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्सविरुद्ध गत वर्षको उपविजेता सुदूरपश्चिम रोयल्सले सामान्य लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम १७.२ ओभरमा अलआउट हुँदै मात्र ८७ रनमा समेटिएको छ।

लुम्बिनीका अनुशासित र धारिलो बलिङ आक्रमणसामू सुदूरपश्चिमका ब्याटरहरू टिक्न सकेनन्। टोलीका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन (२३ बल) जोडे भने सैफ अली जैबले १४ बलमा १३ रन बनाए।

यी दुईबाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। विनोद भण्डारीले ९, इशान पाण्डेले ७, ब्रान्डन म्याकमुलेनले २ र शेरफन रदरफोर्डले १ रन बनाए। आरिफ शेख, स्कट कुगेलेइन र हेमन्त धामी खाता खोल्नै नपाई शून्य रनमा पेभेलियन फर्किए।

सुदूरपश्चिमलाई सस्तैमा समेट्ने क्रममा लुम्बिनीका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे। किशोर महतोले घातक बलिङ गर्दै ४ विकेट चट्याए भने शेर मल्लले ३ विकेट लिए। त्यस्तै, शाड्ली भान शाकवाइक, तिलकराज भण्डारी र कप्तान रोहित पौडेलले १-१ विकेट हात पारे।

पावर प्लेदेखिनै लगातार विकेट गुमाएको सुदूरपश्चिमलाई सस्तो योगफलमा रोक्न सफल भएको लुम्बिनी अब यो सामान्य लक्ष्य पछ्याउँदै विजयी सुरुवात गर्ने दाउमा मैदान उत्रिनेछ।