काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपिएल)को समग्र बजार मूल्य (मार्केट भ्यालु) करिब ८ सय करोड (८ अर्ब रुपैयाँ) पुगेको दाबी गरेका छन् ।
एनपिएलले नेपाली खेलकुद क्षेत्रमा अभूतपूर्व व्यावसायिक सम्भावना र आर्थिक चहलपहल सिर्जना गरेको उल्लेख गर्दै उनले आइतबार आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।
सचिव खड्काका अनुसार फ्रेन्चाइज टोलीहरूको बिक्री, व्यावसायिक प्रायोजन, प्रसारण अधिकार तथा अन्य व्यापारिक पक्षहरूलाई समायोजन गर्दा लिगको कुल बजार मूल्याङ्कन यो उचाइमा पुगेको हो ।
एनपिएलले नेपाली क्रिकेटलाई व्यवसायीकरणतर्फ लैजानुका साथै स्वदेशी तथा विदेशी खेलाडी, प्राविधिक र सम्बद्ध संघ(संस्थाका लागि ठूलो आर्थिक अवसर सिर्जना गरेको क्यानको भनाइ छ ।