काठमाडौँ, १ कात्तिक। देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी नौ जनाको मृत्यु भएको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा सिन्धुली, सुनसरी, उदयपुर, धनुषा, मोरङ, रौतहट र रोल्पामा भएका छुट्टाछुट्टै दुर्घटनाहरूमा उनीहरूको ज्यान गएको हो।
सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित सडकमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको सुमो अनियन्त्रित भई दुर्घटना हुँदा खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ बस्ने २१ वर्षीया युपना राईसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। उक्त दुर्घटनामा परी घाइते भएका चालक र एक यात्रुको सिन्धुली अस्पतालमा तथा अन्य दुई जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
त्यस्तै, सुनसरीको इनरूवा नगरपालिका–४ बसचोकस्थित सडकमा लु २ ख ६९१२ नम्बरको ट्रकले को २५ प २७४९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही नगरपालिका–९ बबियाकी ५० वर्षीया रितादेवी यादवको मृत्यु भएको छ।
उदयपुरको कटारी नगरपालिका–५ भोर्लेस्थित सडकमा प्र १–०५–००१ प ९६८२ नम्बरको मोटरसाइकल र बा ०१–००६ ख ६८४४ नम्बरको इभी गाडी एकआपसमा ठोक्किँदा सोही ठाउँका ३० वर्षीय मोटरसाइकल चालक सुमन श्रेष्ठको ज्यान गएको छ।
धनुषाको जनकपुर उपमहानगरपालिका–१७ तेतरिया पुलस्थित सडकमा ज ११ प ३०५८ र म प्र ०२–००९ प ११५७ नम्बरका दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा १८ वर्षीय सुजित यादवको मृत्यु भएको छ भने उक्त दुर्घटनामा घाइते भएका अन्य तीन जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
यसैगरी मोरङको सुनवर्षी नगरपालिका–५ झुङगी टोलमा बीआर ३८ एच ३५०४ र प्र १–०२–०४५ प ८९६६ नम्बरका मोटरसाइकल आपसमा ठोक्किँदा ४७ वर्षीय शिवकुमार मण्डलको मृत्यु भएको छ। रौतहटको मौलापुर नगरपालिका–२ मर्यादपुरमा बा ३७ प ९९७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा फतुवा विजयपुर नगरपालिका–२ शीतलपुरकी ७० वर्षीया सोमरियादेवी ठाकुरको ज्यान गएको छ।
रोल्पाको माडी गाउँपालिका–१ चालाङ भिरमा घर्तीगाउँबाट पेदीखोलातर्फ जाँदै गरेको लु प्र ०२–००१ ह १९४७ नम्बरको अटो दुर्घटना हुँदा त्यसमा सवार सोही गाउँपालिका–१ घोर्नेटीकी ३२ वर्षीया खुमाकुमारी भण्डारीको पनि मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।