काठमाडौँ । रसुवाको भोटेकोसी नदी क्षेत्रमा भदौ १० गते आएको भीषण बाढीका कारण प्रभावित सडक यातायातलाई सहज बनाउने उद्देश्यले बेत्रावतीस्थित फलाकु खोलामाथि एक्रो बेलीब्रिज निर्माण गरी सञ्चालनमा ल्याइएको छ । बाढी आएको ४५ दिनपछि निर्माण सम्पन्न भएको बेलीब्रिज नेपाली सेनाले आइतबार (असोज २५) एक कार्यक्रमबीच उद्घाटन गरेको हो ।
बेलीब्रिज सञ्चालनमा ल्याइएसँगै बाढीका कारण प्रभावित बनेको सडक सम्पर्क पुनः सहज हुने अपेक्षा गरिएको छ । पुल सञ्चालनमा ल्याइएपछि स्थानीय बासिन्दा तथा उक्त सडकखण्ड भएर आवतजावत गर्ने यात्रु र सवारीसाधनलाई राहत पुग्ने विश्वास गरिएको छ ।
भदौ १० गते आएको भीषण बाढीले सडक तथा पुलका संरचनामा क्षति पुर्याउँदा त्यस क्षेत्रको यातायात सेवा प्रभावित बनेको थियो । बेलीब्रिज निर्माणसँगै आवागमन सहज बनाउन महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ ।