काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा महिला तथा सर्वसाधारणलाई लक्षित गरी सिक्री लुटपाट, डकैती र मोटरसाइकल चोरी गर्दै आएको तीन जनाको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार पक्राउ पर्नेहरूमा मुख्य योजनाकार सिन्धुलीका २६ वर्षीय आयन माझी र उनका सहयोगीहरू मकवानपुरका ३६ वर्षीय मनोजकुमार मोक्तान तथा २४ वर्षीय राकेश थिङ रहेका छन्।
प्रहरी अनुसन्धान अनुसार मुख्य योजनाकार माझीले लुटपाटका लागि हतियार, मोटरसाइकल र नक्कली नम्बर प्लेटको व्यवस्थापन गर्ने गर्थे भने मोक्तानले मोटरसाइकल चलाउने र थिङले पछाडि बसेर सिक्री तान्ने काम गर्दथे। उनीहरूले बिहानको समयमा मर्निङ वाकमा निस्किएका वा तरकारी बिक्री गर्न जाने महिला तथा वृद्धवृद्धालाई बाटो सोध्ने निहुँमा नजिकिएर सिक्री तानेर भाग्ने गर्दथे। यसका साथै पठाओ वा इनड्राइभको यात्रु खोजेजस्तो गरी मोटरसाइकलमा बस्न खोज्ने व्यक्तिहरूलाई लक्षित गर्ने र दुईवटा मोटरसाइकलमा ६ जनासम्म सवार भई एक्लो यात्रुलाई घेरेर हतियार देखाई डाँका गर्ने शैलीसमेत अपनाएको पाइएको छ।
अनुसन्धानका क्रममा यो गिरोहले हालसम्म १५ भन्दा बढी मोटरसाइकल चोरी गरिसकेको र लुटपाटमा प्रयोग गरिएको पल्सर २२० मोटरसाइकल बालकुमारी पुलमुनिबाट लुटिएको खुलेको छ। वारदातपछि तुरुन्तै नक्कली नम्बर प्लेट फेर्ने यो समूहको साथबाट प्रहरीले दुई थान मोटरसाइकल, विभिन्न नक्कली नम्बर प्लेट, एक थान खुकुरी र घटनामा प्रयोग भएका कपडाहरू बरामद गरेको छ।
मुख्य अभियुक्त आयन माझी विगतदेखि नै बौद्ध र स्वयम्भू क्षेत्रमा डाँकाचोरीमा सक्रिय रहँदै आएका व्यक्ति हुन्। उनीविरुद्ध काठमाडौँ, भक्तपुर र काभ्रेका प्रहरी कार्यालयहरूमा २७ वटा डाँकाचोरीका मुद्दा दर्ता भइसकेका छन्। पक्राउ पर्दै छुट्दै पुनः अपराधमा फर्किने गरेका माझी भदौ २४ को आन्दोलनपछि भएका एटीएम तथा बैंक लुटपाटका घटनामा समेत संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।