आजको मौसम: कता-कता हुँदैछ भारी वर्षा र हावाहुरी?

आजको मौसम: कता-कता हुँदैछ भारी वर्षा र हावाहुरी?

काठमाडौं।  हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रत्यक्ष प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने तराईका भूभागहरूमा आंशिक बदली रहेको छ।

अहिले कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूका साथै लुम्बिनी प्रदेशका एक-दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा साधारणतया बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा साधारणतया बदली तथा बाँकी तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ।

यसैगरी, हिमाली भूभागका थोरै स्थान र पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ्ग, हावाहुरी र असिनासहित मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानका साथै मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा पनि हावाहुरी र असिनासहित वर्षा हुन सक्नेछ।

विशेष गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभाग र बागमती, गण्डकी एवं कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ।

आज राति कोशी प्रदेशका सम्पूर्ण भूभागका साथै देशका हिमाली र पहाडी क्षेत्रमा साधारणतया बादल लाग्नेछ भने तराई भूभागमा आंशिक बदली रहनेछ। हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ। तराईका एक-दुई स्थानमा पनि मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ। बिहानीपख भने तराईका केही भूभागमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ।

छुटाउनुभयो कि ?