भारतमा अलपत्र १४ नेपाली तीर्थयात्रीको उद्धार

भारतमा अलपत्र १४ नेपाली तीर्थयात्रीको उद्धार

काठमाडौँ: भारतको चेन्नईमा अलपत्र १४ नेपाली तीर्थयात्रीको आज उद्धार गरिएको छ । कोभिड–१९ को सङ्क्रमणका कारण भारतको चेन्नईस्थित नोलाम्बोमा अलपत्र उनीहरुको उद्धार गरिएको हो । ग्रेटर चेन्नई कर्पोरेशनका कमिशनर जी प्रकाश, निःशब्द सेवा चेन्नईका संस्थापक ई ए विश्वोनथन, डा नेहा मयुर, फुड बैंक भारतका संस्थापक स्नेहा मोहान्डोसलगायतसँगको सहयोग र सहकार्यमा उनीहरुको उद्धार गरिएको अन्तर्राष्ट्रिय युवा केन्द्र नेपालका अध्यक्ष राजकुमार कट्टेलले जानकारी दिनुभयो ।

‘भारतमा रहने मेरा मित्रहरुको सहयोगमा उहाँहरुको उद्धार गरेका छौँ’, उहाँले भन्नुभयो, ‘अहिले उहाँहरुको स्वास्थ्य परीक्षणपछि चेन्नई सरकारले सुरक्षित स्थानमा खान र बस्ने व्यवस्था गरिदिएको छ ।’ नेपाल र भारत दुवै देशमा लकडाउन गरिएकाले खुलेपछि उनीहरुलाई नेपाल ल्याइने अध्यक्ष कट्टेलले बताउनुभयो । उद्धार गरिएकामध्ये झापाका आठ तथा मोरङ र पाँचथरका तीनतीन जना छन् । उनीहरुमा कनकाई–१ का ६३ वर्षीय दीनानाथ अधिकारी, ६१ वर्षीया उमादेवी अधिकारी, ३० वर्षीय राजन अधिकारी, ७१ वर्षीय पर्वलाल अधिकारी, ६५ वर्षीया पुण्यप्रभा अधिकारी र ६६ वर्षीया डम्बरकुमारी लुइँटेल रहेको अध्यक्ष कट्टेलले जानकारी दिनुभयो ।

त्यस्तै झापा मेचीनगर–१० का ६५ वर्षीय मोहनीविशाल लुइँटेल र ५९ वर्षीया गङ्गादेवी लुइँटेल छन् । यस्तै मोरङ रतुवामाई–६ का ७९ वर्षीय नेत्रप्रसाद पोखरेल, ६४ वर्षीया देवीमाया पोखरेल र ३८ वर्षीय गोविन्द पोखरेल छन् । यस्तै पाँचथर फाप्लेजुङ–१ का ७३ वर्षीय मुक्तिनाथ खतिवडा, ४० वर्षीय भेषराज खतिवडा र ७६ वर्षीया सावित्रादेवी रिजालको उद्धार गरिएको अध्यक्ष कट्टेलले बताउनुभयो । उनीहरु गत फागुन २१ गते तीर्थयात्राका लागि भारत गएका थिए ।