नेपालमा फसेका ३०४ विदेश नागरिक त्रिभुवन विमानस्थबाट घर फर्किए

नेपालमा फसेका ३०४ विदेश नागरिक त्रिभुवन विमानस्थबाट घर फर्किए

काठमाडौं : नेपालमा रहेका जर्मन, फ्रान्सेलीसहित युरोपेली देशका नागरिकलाई लिएर कतार एयरवेजको जहाज फर्किएको छ । कतार एयरवेजको वाइड बडी जहाजले शुक्रबार बिहान ११ः५० बजेको उडानमा जर्मन, फ्रान्सेलीसहित युरोपेली देशका नागरिक लिएर फर्किएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले ३ जना बालबालिकासहित ३०४ यात्रु लिएर कतार एयरवेजको जहाज फर्किएको जानकारी दिए । कतार एयरवेजको सोही जहाज शनिबार बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरी नेपालमा रहेका अन्य युरोपेली देशका नागरिक लैजानेछ ।

बिहान ११ः५० बजेको उडान निर्धारण गरिएको विमानस्थलले जनाएको छ । युरोपेली सङ्घको आग्रहबमोजिम नेपालका विभिन्न स्थानमा रहेका फ्रान्सेली नागरिकलाई परराष्ट्र मन्त्रालयसँगको समन्वयमा यहाँस्थित दूतावासले आफ्ना नागरिक काठमाडौँमा जम्मा गरी चार्टर्ड उडान गरेर लैजाने प्रक्रिया थालेका छन् । जसअन्तर्गत नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले शुक्रबार र शनिबार गरी २ उडानको अनुमति दिएको थियो ।

पोखरा, लुक्लालगायत गन्तव्यबाट फ्रान्सेलीसहित युरोपेली देशका नागरिकलाई हवाई उद्धार गरी शुक्रबार काठमाडौँ ल्याइएको थियो । बुद्ध एयर र तारा एयरबाट उनीहरुलाई काठमाडौँ ल्याइएको थियो । लकडाउनका कारण देशका विभिन्न गन्तव्यमा रहेका विदेशीलाई नेपालको परराष्ट्र मन्त्रालयसँगको समन्वयमा यहाँ रहेका सम्बन्धित मुलुकका दूतावासले उद्धार थालेका हुन् ।