आज देखि नेपाल टेलिकमले रिचार्ज कार्डमा शतप्रतिशत बोनस दिने

आज देखि नेपाल टेलिकमले रिचार्ज कार्डमा शतप्रतिशत बोनस दिने

काठमाडौँ : कोभिड–१९ को जोखिम रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारले घरबाट ननिस्कन आदेश जारी गरेको सन्दर्भमा नेपाल टेलिकमले मोबाइल सेवाकोे प्रयोगलाई सहज तुल्याउन रिचार्जमा शतप्रतिशत बोनस घोषणा गरेको छ । टेलिकम प्रवक्ता राजेश जोशीद्वारा हिजो जारी प्रेस विज्ञप्तिमा उक्त व्यवस्था बिहिबारदेखि ७ दिनका लागि लागू हुनेछ ।

टेलिकमको जीएसएम तथा सिडिएमएको प्रिपेड तथा पोस्टपेड सेवामा रिचार्ज कार्ड वा एमपोसबाट रिचार्ज गर्दा रिचार्ज गरेको रकमको शतप्रतिशत बराबर बोनसको रूपमा प्राप्त हुनेछ । वोनस रकमबाट टेलिकमको नम्बरमा कल गर्न, एसएमएस पठाउन तथा डाटा प्रयोग गर्न सकिन्छ भने ब्यालेन्स ट्रान्सफर गर्न वा प्याकेज खरिद गर्न वा गिफ्ट पठाउन भने सकिने छैन ।

रिचार्ज कार्ड प्रयोग गरी रु.५० र रु.१०० को रिचार्ज गर्दा प्राप्त हुने वोनस रकम २ दिन भित्र खपत गरिसक्नु पर्छ भने रु.२०० र रु.५०० को रिचार्जमा प्राप्त हुने वोनस रकम ४ दिनभित्र खपत गरिसक्नु पर्नेछ । टेलिकमका अनुसार, रु.१००० को रिचार्जमा प्राप्त हुने वोनस रकम ६ दिनभित्र खपत गरिसक्नु पर्नेछ । एमपोस वा विद्युतीय रिचार्जअन्तर्गत रु.१० देखि रु.९९ सम्मको रिचार्जमा प्राप्त हुने वोनस २ दिनभित्र, रु.१०० देखि रु.४९९ सम्मको रिचार्जमा प्राप्त हुने वोनस ४ दिन भित्र र रु.५०० देखि रु.९९९ सम्मको रिचार्जमा प्राप्त हुने वोनस ८ दिनभित्र खपत गर्नुपर्नेछ । रु.१००० वा सो भन्दा माथिको रिचार्जमा प्राप्त हुने वोनस १० दिनभित्र खपत गरिसक्नु पर्ने विज्ञप्तिमा उल्लेख छ ।