कोभिड–१९ : विशेष प्रकृतिका छ कैदीबाट छुट्न निवेदन

कोभिड–१९ : विशेष प्रकृतिका छ कैदीबाट छुट्न निवेदन

तनहुँ : जिल्ला कारागारमा रहेका छ कैदीले छुट्नका लागि निवेदन दिएका छन् । कोभिड–१९ लाई ध्यानमा राखी सर्वोच्च अदालतले विशेष प्रकृतिका कैदी रिहाइ गर्न सकिने फैसला भएअनुरुप उनीहरुले जिल्ला अदालतमा निवेदन दिएका हुन् ।

कारागारमा रिहाइ गर्न मिल्ने एक वर्ष वा एक वर्षभन्दा कम कैद सजाय भएका सातमध्ये छ जना कैदवापतको रकम बुझाएर रिहाइ हुन मञ्जुर भएका छन् भने एक जना कैदीले भने रकम बुझाउन नसक्ने बताएपछि सोहीअनुरुप छ जनाको निवेदन जिल्ला अदालतमा पठाइएको जिल्ला काराागरका निमित्त जेलर नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । यसरी रिहाइ हुन सक्ने कैदीले बाँकी कैद अवधिको दिनको रु तीन सयका दरले हुन आउने रकम बुझाउनुपर्ने प्रावधान छ । उहाँले भन्नुभयो, “अदालतबाट फैसला भई कैदवापतको रकम बुझाएर छाडिदिन आदेश दिएपछि मात्रै हामीले रिहाइ गर्न सक्छौँ ।” छमध्ये दुई जना बाह्य जिल्लाका भएकाले उनीहरुको बाह्य अदालतबाट र चार जनाको तनहुँ जिल्लाबाट फैसला हुनुपर्ने छ ।

विशेष प्रकृतिका कैदीमा सवारी ज्यान मुद्दाका चार तथा ठगी, लागुऔषध र बहुविवाहका एक एक रहे पनि बहुविवाह मुद्दाका व्यक्तिले कैदवापतको रकम बुझाउन नसक्ने भएका हुन् । मुलुकी फौजदारी कार्यसंहिता २०७४ को दफा १५५ को व्यवस्थानुरुप कैदीले निवेदन पेश गरेकाले निवेदनमाथि कारवाही प्रक्रिया अघि बढिरहेको जिल्ला अदालतका नासु कृष्णप्रसाद गौतमले जानकारी दिनुभयो । उनीहरुको तथ्यप्रमाण, शान्ति स्थितिमा खलल पु¥याउने खालको गतिविधिलगायत हेरेर मात्रै जिल्ला न्यायधीशले फैसला गर्ने भएकाले प्रक्रियामा रहेको उहाँले बताउनुभयो ।