पलाञ्चोक मन्दिरमा पूजामा रोक

पलाञ्चोक मन्दिरमा पूजामा रोक

बनेपा: कोरोना भाइरस (कोभिड–१९)को सम्भावित सङ्क्रमणबाट जोगिन पाँचखाल नगरपालिकाले नगर बासिन्दालाई सकेसम्म घर बाहिर ननिस्कन, ऐतिहासिक एवं धार्मिक मन्दिर पलाञ्चोक भगवतीको मन्दिरमा नित्य पूजाबाहेकका भीडभाड रोक्न र अन्य पूजाआजा बन्द गर्ने निर्णय गरेको छ । आइतबार नगरप्रमुख महेश खरेलको संयोजकत्वमा बसेको बैठकले सो निर्णय गरेको हो । त्यसका साथै आजबाट नगर बासिन्दालाई बाहिर ननिस्की घरमा बस्न अनुरोध गर्दै माइकिङ गरिरहेको नगरप्रमुख महेश खरेलले बताउनुभयो । नगर बासिन्दालाई सचेत गराउन पर्चा वितरण, भीडभाड नियन्त्रणका लागि अयिभान सञ्चालन भइरहेको उहाँले बताउनुभयो ।

पलाञ्चोक भगवती मन्दिरलगायतका धार्मिकस्थलमा नित्य पूजाबाहेक भीडभाड रोक्न अन्य पूजाआजाका कार्यक्रम भने आजबाट बन्द भएको नगरप्रमुख खरेलले बताउनुभयो । नगर कार्यपालिका बैठक र अन्य बैठक, भिडियो कन्फ्रेन्स, सामाजिक सञ्जाल वा अन्य भर्चुअल विधिबाट सञ्चालन गर्ने, क्विक रेपिड रेस्पोन्स टोली गठन गर्ने, सो कार्यसँग सम्बन्धित खरिद गर्ने जिम्मेवारी नगरपालिकाको सार्वजनिक खरिद एकाइलाई जिम्मेवारी दिने निर्णय गरेको नगरपालिकाले जनाएको छ । त्यस्तै बैठकले नगरस्तरीय र प्रत्येक वडामा गठन भएको वडास्तरीय कोरोना प्रतिकार्य समितिलाई क्रियाशील गर्ने निर्णय गर्नुका साथै वडा समिति र वडास्तरीय कोरोना प्रतिकार्य समितिलाई विपद् व्यवस्थापन कोषबाट पछि खर्चसम्बन्धी आवश्यक कागजात पूरा गरी भुक्तानी दिनेगरी हाललाई कोरोना जोखिम रोकथाम र न्यूनीकरण कार्य गर्न प्रतिवडा रु ५० हजार मात्र खर्च गर्ने अख्तियारी दिने निर्णय गरेको छ ।

नगरपालिकाले नगरभित्र रहेका सबै स्वास्थ्य केन्द्र एवं स्वास्थ्य संस्थामा कार्यरत कुनै पनि कर्मचारीलाई अत्यावश्यक अवस्थाबाहेक बिदामा नबस्ने निर्णय गर्नुका साथै पाँचखाल प्राथमिक स्वास्थ्य केन्द्रमा पाँच श्ययाको आइसोलेसन वार्ड तत्काल व्यवस्था गर्ने र समाज कल्याण प्राथमिक विद्यालयमा क्वारेन्टाइन वार्ड बनाउने गरी तयारी गर्ने जनाएको छ ।

एम्बुलेन्स तयारी अवस्थामा

नगरपालिकाले नगरका एम्बुलेन्सलाई तयारी अवस्थामा राखेको जनाएको छ । वडा कार्यालय एवं मानिसको बढी भीडभाड तथा आवतजावत हुने महत्वपूर्ण धार्मिक एवं सार्वजनिकस्थलमा हात धुने व्यवस्था गर्न सम्बन्धित वडा कार्यालयलाई जिम्मेवारी दिने निर्णय गर्नुका साथै भीडभाड हुने चिया पसल, धेरै कामदार भएका उद्योग, व्यवसाय, सहकारी संस्था बन्द गर्न गरिएको अनुरोधलाई आजबाट कार्यान्वयनमा ल्याउन पहल भइरहेको नगरप्रमुख खरेलले बताउनुभयो । नगरमा जनशक्ति कम भएका कारण एकैपटकमा सबै ठाउँमा पुग्ने नभएकाले क्रमशः अभियान सञ्चालन भइरहेको उहाँले बताउनुभयो । विदेश वा नगर बाहिरबाट कोही पाँचखाल नगरपालिकाभित्र आएको भए स्वास्थ्य जाँचका लागि आउन अनुरोध गर्नुका साथै त्यसरी कोही नयाँ व्यक्तिका बारेमा निगरानी राख्न वडास्तरीय कोरोना प्रतिकार्य समितिलाई जिम्मेवारी दिइएको छ । नगरपालिकाको बैठकले आजबाट चैत २१ गतेसम्म पाँचखाल नगरपालिका क्षेत्रमा घरभित्रै बसी स्वःघोषित कफ्र्युमा जान सम्पूर्ण नगरवासीमा अनुरोध गरेको जनाएको छ । कोरोनासँग सम्बन्धित विपद् व्यवस्थापनमा आइपर्ने काम गर्न खटिने नगरपालिका, स्वास्थ्य संस्था, सुरक्षा निकाय र निजी क्षेत्रको फोहर व्यवस्थापनका कर्मचारीलाई प्रोत्साहन भत्ता, सुरक्षाका सामग्री, मास्क, स्यानिटाइजर, पञ्जालगायतका सामग्री उपलब्ध गराउनुका साथै विपद् व्यवस्थापन कोषमा उपयुक्त शीर्षकबाट रकमान्तर गरी रु सात लाख थप गर्ने समेत निर्णय गरेको नगरपालिकाले जनाएको छ ।