पोखरा:गण्डकी प्रदेशको राजधानी पोखराको लेकसाइडमा कोरोनो भाइरस भित्रिन नदिन सतर्कता अपनाइएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई मध्यनजर गर्दै पोखरा महानगरपालिकाले पर्यटकीय क्षेत्र लेकसाइडमा हेल्थ डेस्क (सहायता कक्ष) स्थापना गरेको हो ।
पोखरा महानगरपालिकाले लेकसाइडस्थित बाराहीचोकमा डेस्क स्थापना गरेको महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले जानकारी दिनुभयो । गुरुङले लेकसाइड पर्यटकको प्रमुख केन्द्र भएकाले स्वास्थ्य सतर्कताका लागि हेल्थ डेस्क राखिएको बताउनुभयो । हेल्थ डेस्कमा कोरोनाको लक्षण, बच्ने उपायलगायतका बारेमा स्वास्थ्यकर्मीसहित सचेतनामूलक जानकारी गराइने महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले जानकारी दिनुभयो ।यसअघि पोखरा महानगरले पोखरा विमानस्थलमा पनि डेल्थ डेस्क स्थापना गरिसकेको छ ।
महानगरका विभिन्न वडामा जनप्रतिनिधि एवं सामाजिक सङ्घ संस्थाले कोरोनाविरुद्धको सचेतना कार्यक्रमलाई तीव्रता दिएका छन् । प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहित प्रदेशसभा सदस्यलगायतले पोखरामा विभिन्न स्थानमा सचेतनाका लागि पर्चा पम्लेट वितरण गर्दै स्वास्थ्य सतर्कता अभियानालाई जोड दिँदै आउनुभएको छ ।
प्रदेशका कोभिड सङ्क्रमणको लिइएका परीक्षणमा अहिलेसम्म कसैको पनि सङ्क्रमण भएको नपाइएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोद विन्दु शर्माले जानकारी दिनुभयो । उहाँले कोरोना सङ्क्रमण रोक्न प्रदेशभित्र ८० श्यया आइसोलेसन वार्ड तयार गरिएको र उपचारको तयारीका लागि १२ वठा समिति गठन गरिएको बताउनुभयो ।