विद्यालयहरू ९ बजेदेखि ४ बजेसम्म चलाउन सरकारको निर्देशन

विद्यालयहरू ९ बजेदेखि ४ बजेसम्म चलाउन  सरकारको निर्देशन

काठमाडौँ:सरकारले देशभर लागू हुने गरी विद्यालय समय बिहान ९ बजेदेखि ४ बजेसम्म तोक्ने तयारी गरेको छ । हाल आधिकारिक विद्यालय समय भने १०–४ रहेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले नयाँ शैक्षिक सत्रदेखि बिहान ९ बजेदेखि ४ बजेसम्म विद्यालय सञ्चालन गर्न र गराउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ ।

विद्यालय र अन्य कार्यालयहरु अर्थात निजी हुन् वा सरकारी सबै कार्यालयहरु प्राय १० बजे खुल्ने र चार वा पाँच बजे बन्द हुने एकै तथा समान छ । कार्यालय समय समान हुँदा सडकमा सवारी साधनको चाप बढ्ने र ट्राफिक जामको समस्या पनि हुने निष्कर्षसहित विद्यालय समय हेरफेर गरिएको अधिकारीहरु बताउँछन् ।

‘खासगरी एउटै समय भएकाले काठमाडौं उपत्यका र अन्य ठूला सहरमा ट्राफिक जामको चाप समस्या समधान गर्नका निमित विद्यालयहरु छिटो खोल्ने र छिटो बन्द गर्ने निष्कर्षमा पुगिएको हो,’ शिक्षा सचिव दाहालले भने ।

शिक्षा मन्त्रालयले विद्यालय सन्चालनको नयाँ समय लागू गराउने विषयमा सरोकारवालासँग छलफल गर्दै आएको छ । यसमा आवश्यक सुझाव दिन शिक्षा शाखा प्रमुख कृष्णप्रसाद काप्रीको संयोजकत्वमा एक समितिसमेत गठन गरिएको छ ।