पूर्वगाविस सचिव ४ दर्जन बढी नक्कली नागरिकतासहित पक्राउ

पूर्वगाविस सचिव ४ दर्जन बढी नक्कली नागरिकतासहित पक्राउ

वीरगन्ज : वीरगन्जमा नक्कली नेपाली नागरिकता बनाउने एक पूर्वगाविस सचिवलाई पर्सा प्रहरीले आइतबार बिहान नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा प्रहरीको अपराध शनुसन्धान शाखाको टोलीले बिहान वीरगन्ज महानगरपालिका १६ भिस्वास्थित पूर्वगाविस सचिव बिन्दा साहको घरमा छापा मारेको हो । छापा मार्दा साहको घरबाट ४ दर्जन बढी नागरिकता बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

साहको घरबाट नेपाली नागरिकता प्रमाणपत्रका लागि जिल्ला प्रशासन कार्यालयमा भरिने अनुसूची फाराम, विभिन्न व्यक्तिका पासपोर्ट साइजका तस्बिर, जन्मदर्ता, विवाह दर्ता र भारतीय नागरिकता परित्यागका लागि भरिने जिल्ला दण्ड अधिकारी कार्यालयको फाराम समेत बरामद भएको प्रहरी स्रोतले बताएको छ ।

प्रहरी टोली पुग्दा साहको एउटा कोठामा ताल्चा लगाइएको भेटिएपछि शंका लागेर प्रहरीले ताल्चा तोड्दा दुई वटा सिरकभित्र नागरिकतालगायतका कागजात फेला परेको अनुसन्धानमा सम्लग्न एक प्रहरीले बताएका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तले नक्कली नागरिकता बनाउने एक जना शंकास्पद व्यक्ति पक्राउ परेको जानकारी दिइन ।

साहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको प्रहरीले बताएको छ । छापा मार्दा साहकै ३ वटा नागरिकता बरामद भएका छन् । साहले ४० हजार रुपैयाँमा एउटा नागरिकता बनाउने गरेको प्रहरीलाई बयान दिएका छन्, अनुसन्धानमा सम्लग्न एक प्रहरी अधिकृतले भने, यसमा अरुको समेत संलग्नता हुन सक्छ, अनुसन्धान गर्दैछौँ ।’

पर्साको साविक डोकैला बहुअरी गाविस सचिव हुँदा साहमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक हिनामिनाको मुद्दा दर्ता गरेको थियो । अदालतले साहलाई दोषी ठहर गर्दै ५ महिना कैद सजायको फैसला गरेको थियो । प्रहरी नियन्त्रणमा रहेका साह २ वर्ष अगाडि मात्र कैद सजाय भुक्तान गरेर छुटेका थिए ।