काठमाडौं : चीनबाट उद्धार गरी भक्तपुरको खरिपाटी क्वारेण्टाइनमा राखिएका १ सय ७५ जनालाई आज घर फर्काउने तयारी गरिएको छ । दोस्रो पटक गरिएको स्वास्थ्य जाँचको रिपोर्ट आएपछि उनीहरुलाई घर पठाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
धेरै जनाको स्वाब नमूना एकै पटक परीक्षण गर्नुपर्ने भएकाले समय लाग्ने र सबैको रिपोर्टमा कोरोना सङ्क्रमण नभएको आयो भने मात्रै घर फर्काइने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार १ सय ७५ जनामध्ये एक जनामा मात्रै कोरोना सङ्क्रमणको लक्षण देखियो भने पनि सबैलाई फेरि अर्को १४ दिन क्वारेण्टाइनमा राख्नुपर्ने हुन्छ । क्वारेन्टाइनमा रहेका कसैमा पनि ज्वरो आउने, रुघा लाग्नेजस्ता कुनै लक्षण नदेखिएको बताइएको छ । यसअघि चीनको वुहानबाट नेपाली विद्यार्थीलाई उद्धार गरी ल्याउने नेपाल वायुसेवा निगमको जहाजका चालकसहित १८ जना भने क्वारेण्टाइन बसाई पूरा गरी हिजै घर फर्किएका छन् ।