पूर्वसांसद भागवत ज्ञवालीको निधन

पूर्वसांसद भागवत ज्ञवालीको निधन

पाल्पा : पूर्वसांसद भागवत ज्ञवालीको ७६ वर्षको उमेरमा मंगलबार निधन भएको छ । ज्ञवालीको उपचारको क्रममा काठमाडौंमा निधन भएको हो । छाती, फोक्सो र पिसाबमा समस्या देखिएका ज्ञवालीको नेपाल र भारतका विभिन्न अस्पतालमा उपचार भइरहेको थियो ।

२०४८ सालमा गुल्मी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका ज्ञवाली नेपाली कांग्रेस गुल्मीको पहिलो सभापतिसमेत हुन् । ज्ञवालीले २०४८ सालमा एमालेका प्रभावशाली नेता जीवराज आश्रितलाई पराजित गरेका हुन् । आश्रित गुल्मी क्षेत्र नम्बर १ हरेवाका बासिन्दा भए पनि क्षेत्र नम्बर २ बाट निर्वाचन लडेका थिए । त्यस्तै २०५१ सालको निर्वाचनमा ज्ञवाली एमाले उम्मेदवार कमल श्रेष्ठसँग पराजित भएका थिए । त्यसपछि भने उनी कहिल्यै चुनाव लडेनन् ।

राजनीतिक साथै शैक्षिक व्यक्तित्व एवं समाजसेवीका रुपमा परिचित ज्ञवाली लामो समयदेखि पाल्पाको तानसेनमा बस्दै आएका थिए । लोकतान्त्रिक समाजवादी आन्दोलनका अगुवा रहेका ज्ञवाली २००१ साल मंसिर १ गते गुल्मीको मानकोटमा जन्मेका हुन् । उनलाई आदर्श, निष्ठा र इमानदार नेताका रुपमा चिनिने धातानन्द भुसाल बताउँछन् । तानसेन बहुमुखी क्याम्पसको स्थापना गरेर २०५६ सालदेखि निरन्तर अध्यक्ष थिए । ज्ञवाली पाल्पा तथा गुल्मीका विभिन्‍न सामाजिक शैक्षिक संघ संस्थामा क्रियाशील थिए ।