गैँडाको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यु

गैँडाको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यु

चितवन। गैँडाको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ। घटनामा अन्य ९ जना घाइते भएका छन्। मृत्यु हुनेमा रत्न नगर नगरपालिका वडा नं. १६ की ६८ बर्षीया कृष्णकुमारी थापा रहेकी छन्।

थापालाई घरमै बसिरहेको अवस्थामा मंगलबार दिउँसो १२ बजेको समयमा गैँडाले आक्रमण गरेको हो। मंगलबार बिहान खैरहनीको ज्यामिरे क्षेत्रमा २ जनालाई घाइते बनाएको सो गैँडाले दिउँसो रत्न नगर पुगेर थापालाई आक्रमण गरेको हो।

मृतकको शवलाई पोस्टमार्टमको लागि भरतपुर अस्पतालमा राखिएको छ। थापाका श्रीमान् डम्बरबहादुर थापा समेत गैँडाको आक्रमणबाट घाइते भएका वडाध्यक्ष हेमराज थापाले जानकारी दिए। रत्न नगरमा गैँडाको आक्रमणबाट थापाका श्रीमान् सहित अन्य ४ जना घाइते भएका छन्। घाइते हुनेहरूमा रत्न नगर न.पा.१२ बस्ने वर्ष ७२ का चेतनाथ चौलागाई, वर्ष ३९ की सीता पोख्रेल, वर्ष २५ को पूजन बि.क र रत्न नगर १४ बस्ने वर्ष ६० की मिना गुरुङ छन्।

घाइतेहरूको भरतपुर सरकारी अस्पताल र नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ। चितवन राष्ट्रिय निकुञ्जबाट निस्किएको सो गैँडाले पौष १३ गते राप्ती नगरपालिकाको अमिलिपानी सामुदायिक वन क्षेत्रमा २ जनालाई घाइते बनाएको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए।

मङ्गलवार बिहान खैरहनी क्षेत्रमा देखा परेको गैँडालाई नियन्त्रणमा लिन हात्ती सहितको टोली खटिएको थियो। तर स्थानीयको अत्यधिक भीडका कारण गैँडा भड्किएर घटना घटेको मगरले बताए। गैँडा हाल रत्न नगरको वार्ड नम्बर ९ मा रहेको मिलीजुली सामुदायिक वनमा प्रवेश गरेको छ।