भोटेकोशी बाढी: १३ हजारभन्दा बढीको उद्धार, १,३५७ को शव फेला, ५,३२६ अझै बेपत्ता

भोटेकोशी बाढी: १३ हजारभन्दा बढीको उद्धार, १,३५७ को शव फेला, ५,३२६ अझै बेपत्ता

काठमाडौं।  रसुवास्थित भोटेकोशी नदीमा गत भदौ १० गते आएको बिनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धार अभियानका क्रममा हालसम्म १३ हजार ३९६ जनाको उद्धार गरिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार उद्धार गरिएकामध्ये ३ हजार ५३३ जनालाई रसुवा, नुवाकोट र धादिङका ३९ वटा होल्डिङ सेन्टरमा सुरक्षित रूपमा राखिएको छ। बाढीमा परी हालसम्म १ हजार ३५७ जनाको शव फेला परेको छ, जसमध्ये ९८ जनाको सनाखत गरी आफन्तलाई बुझाइएको छ।

प्राधिकरणका अनुसार अझै ५ हजार ३२६ जना नागरिक सम्पर्कविहीन छन्। बेपत्ता हुनेमा सबैभन्दा बढी रसुवाका २ हजार ८६० र नुवाकोटका १ हजार ९८१ जना रहेका छन्। बाँकी बेपत्ता हुनेहरूमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न निकायका सरकारी कर्मचारी तथा अन्य जिल्लाका सर्वसाधारण छन्।

बाढीमा परी घाइते तथा प्रभावित भएका ६ हजार ८२७ जनाले प्राथमिक उपचार पाएका छन्। विभिन्न १० अस्पतालमा ३२७ जनाको उपचार गरिएकोमा २४२ जना डिस्चार्ज भइसकेका छन्। नेपाली सेना र सशस्त्र प्रहरीको स्वास्थ्य टोलीबाट समेत हजारौँ प्रभावितले उपचार सेवा पाएका छन्।

भोटेकोशीको बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय निकाय सम्मिलित टोली खोजी, उद्धार, उपचार तथा राहत व्यवस्थापनमा निरन्तर खटिएका छन्। प्राधिकरणले बेपत्ताको खोजीलाई तीव्र बनाउँदै पुन:स्थापना र राहत वितरण कार्यलाई समन्वयात्मक रूपमा अघि बढाइएको जनाएको छ।

छुटाउनुभयो कि ?