काठमाडौँ । रसुवाको भोटेकोशी र त्रिशूली नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीपछि १२औँ दिनसम्म पनि खोज, उद्धार तथा राहत कार्य निरन्तर जारी रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, प्राविधिक टोली तथा विदेशी विज्ञहरू खोजी र उद्धारमा खटिएका छन्। विभिन्न जलविद्युत् आयोजनाका सुरुङहरूमा समेत खोजी कार्य जारी राखिएको छ। त्रिशूली-३ ‘ए’, त्रिशूली-३ ‘बी’, रसुवागढी, लाङटाङ र चिलिमे जलविद्युत् आयोजनाका सुरुङहरूमा खोजी गरिएको छ भने अपर त्रिशूली-१ मा अडिट-३ बाट थर्मल ड्रोनमार्फत जीवित व्यक्तिको सङ्केत नदेखिएपछि चिनियाँ टोली फर्किएको छ।
खोजीका लागि सेनाको ग्राउन्ड फोर्स, प्रहरीको केनाइन (कुकुर) टोली र ड्रोन प्रविधि प्रयोग भइरहेको छ। यस्तै बेपत्ता विदेशी पर्यटकको खोजीका लागि पर्यटक प्रहरीसमेत परिचालन गरिएको छ।
प्राधिकरणका अनुसार बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला परेको छ, जसमध्ये ९८ जनाको सनाखत गरी परिवारलाई बुझाइएको छ। पहिचान सहज बनाउन सबै शवको डिएनए नमुना संकलन भइरहेको छ भने आफन्तलाई पनि नजिकैको जिल्ला प्रहरी कार्यालयमा डिएनए नमुना दिन आग्रह गरिएको छ।
प्रभावित क्षेत्रमा सडक, विद्युत् र सञ्चार सेवा पुनः सञ्चालन गर्ने काम तीव्र पारिएको छ। देवीघाट–ढुङ्गे सडक सञ्चालनमा आइसकेको छ भने तादी खोलामा अस्थायी पुल निर्माण र गल्छी–देवीघाट तथा विदुर–बेत्रावती खण्ड सफाइको काम भइरहेको छ।
यसैबीच, खोज तथा राहत कार्यको समीक्षाका लागि भूमि व्यवस्था तथा स्वास्थ्य मन्त्रीहरूको उपस्थितिमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३६औँ बैठकसमेत सम्पन्न भएको छ। प्राधिकरणले चाँडै जनजीवन सामान्य बनाउने प्रयास भइरहेको जनाएको छ।