काठमाडौँ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धार, राहत वितरण र आपत्कालीन स्वास्थ्य सेवा सञ्चालनलाई थप तीव्रता दिएको छ। सेनाका अनुसार आइतबार दिउँसोसम्म हवाई साधनमार्फत थप पाँच जनाको उद्धार गरिसँगै हालसम्म ३ हजार ६९२ स्वदेशी र २७५ विदेशी गरी कुल ३ हजार ९६७ जनाको उद्धार गरिएको छ।
प्राविधिक तथा पूर्वाधार पुनःस्थापनातर्फ नुवाकोटको देवीघाटस्थित तादी नदीमा ५५ जनाको सैन्य इन्जिनियरिङ टोलीले ६० मिटर लामो र ५० टन भारवहन क्षमता भएको ‘एक्रो ब्रिज’ निर्माण गरिरहेको छ।
यस्तै, रसुवागढी, त्रिशूली–३ ‘ए’, त्रिशूली–३ ‘बी’, चिलिमे र माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका सुरुङ तथा पावरहाउसहरूमा सेनाको टोलीले मिनी एक्स्काभेटर, मड पम्प र थर्मल क्यामेराको प्रयोग गरी लेदो हटाउने र खोजी गर्ने कार्य जारी राखेको छ।
सेनाले मैलुङदेखि स्याफ्रुबेंसीसम्म पैदल गस्तीमार्फत खोजी अघि बढाएको छ भने त्रिशूली र धुन्चेमा स्थापित आपत्कालीन उपचार केन्द्रहरूमार्फत हालसम्म ३ हजार २९८ जनालाई स्वास्थ्य सेवा प्रदान गरिसकेको छ। रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वसम्म ९ हजार ३ सयभन्दा बढी सैनिक जनशक्ति परिचालन गरिएको छ। सेनाले हवाई साधनमार्फत २० वटा अक्सिजन सिलिन्डरसमेत त्रिशूली पुर्याएको जनाएको छ।