बाबुछोरा हत्या प्रकरणः निराशा र असफलताले निम्त्याएको एउटा दुःखद् घटना

बाबुछोरा हत्या प्रकरणः निराशा र असफलताले निम्त्याएको एउटा दुःखद् घटना

काठमाडौं। भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित फिकाधाराको एक घरमा मृत भेटिएका ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका कान्छा छोरा २२ वर्षीय प्रविण आचार्यको हत्या कुलप्रसादकै जेठा छोरा मिलनले गरेको खुलासा भएको छ ।

बाबु कुलप्रसाद र भाइ प्रविणको हत्यापछि फरार रहेका २५ वर्षीय मिलनले मंगलबार बिहान प्रहरी वृत्त महाराजगन्जमा आत्मसमर्पण गरेसँगै भएको बयानमा यस्तो खुलासा भएको हो ।

शनिबार राति अबेरसम्म बाबु कुलप्रसाद, भाइ प्रविणसँगै रहेका उनी आइतबार बिहानैदेखि फरार थिए । सोमबार बिहान मात्र कुलप्रसाद र प्रविणको शव भेटिएको थियो । आइतबार दिनभर र सोमबार बिहानसम्म पनि उनीहरू बस्दै आएको दुवै कोठामा ताल्चा झुन्डिएको देखेपछि सोही घरमा भाडामा बसेकाले दिएको सूचनाका आधारमा प्रहरीले ताल्चा फुटाउँदा उनीहरूको शव फेला परेको थियो । तर, शनिबार राति अबेरसम्म तीन बाबुछोरालाई सँगै देखेका, उनीहरूले दिएको मासुसमेत खाएका सोही फ्ल्याटको अर्काे दुईवटा कोठामा भाडामा बसेकाहरूले मिलनलाई भने नदेखेपछि शंकाको सुई मिलनमाथि नै सोझिएको थियो ।

प्रहरीले उनको सोधखोज गर्ने क्रममा आइतबार बिहान ३ बजे (घटना भएको केही समयको अन्तरालमा) नै उनी स्कुटर लिएर कोठाबाट बाहिरिनु र मोबाइलसमेत ‘अफ’ गर्नुले पनि मिलनले नै अप्रिय घटना गराएको प्रहरी आशंकामा बल पुगेको थियो । लगत्तै प्रहरीले उनको खोजी गरे पनि पक्राउ पर्न नसकेको अवस्थामा उनी आफैं मंगलबार बिहान प्रहरीसमक्ष उपस्थित भएका थिए ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले मिलनले बाबु र भाइको हत्या गरेको स्वीकार गरेको बताए । उनले ‘डमबेल’ (शारीरिक सुगठनमा प्रयोग हुने) र सिलौटो प्रहार गरेर बाबु र भाइको हत्या गरेको बताएको पनि जनाए । कुलप्रसादको टाउको पछाडि, कानमा र प्रवीणको टाउको पछाडि चोट देखिएको थियो ।

आत्मसमर्पणपछि उनले बाबु र भाइको हत्या आफूले गरेको स्वीकार मात्रै गरेका छैनन्, परिवारका सबै सदस्यको हत्या गरेर आत्महत्या गर्ने आफ्नो मिसन नै रहेको प्रहरीसमक्ष बयान दिएका छन् । आफू नबाँचेपछि परिवारका अरू सदस्य कसरी बाँच्लान् भन्ने चिन्ताले आफूले सो योजना बनाएको पनि उनले खुलाएका छन् ।

उनले गत दसैंमा गाउँ जाँदा बाबु–आमा दुवैलाई मार्न खोजेको तर वातावरण नमिलेको, अहिले भने बाबुलाई मार्नका लागि उपयुक्त मौका मिलेको सनसनीपूर्ण बयानसमेत दिएका छन् । प्रहरी बयानमा उनले निराशा र असफलताका कारण आफू डिप्रेसनको सिकार भएको पनि उल्लेख गरेका छन् ।

प्रहरी बयानमा उनले खुलाएका छन्, ‘म नबाँचेपछि परिवारका अरू कसरी बाँच्लान् भन्ने लाग्यो त्यसैले मभन्दा पहिला बुबाआमा मर्नुपर्छ भन्ने ठानें, दसैंमा गाउँ गएका बेला मार्ने प्रयास गरेको थिएँ तर वातावरण मिलेन, अहिले बुबा उपचार गर्न आएका बेला ‘उपयुक्त’ मौका छोपें, हामी सबैले न्याय र मुक्ति पाउने भयौं भन्ने लागेर बुबा र भाइलाई मारें ।’

खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ स्थायी घर भएका आचार्य दाजुभाइमध्ये मिलन स्नातक उत्तीर्ण छन् । भाइ प्रवीण भने भीएस निकेतनमा बीएससी पढ्दै थिए । उनीहरू बालकोटस्थित सो घरमा ४ वर्षदेखि बस्दै आएका थिए । बाबु कुलप्रसाद भने २ पुसमा मात्र आएर उनीहरूसँगै बस्दै थिए । खोटाङ जिल्ला हुलाक कार्यालय दिक्तेलका निमित्त प्रमुख उनी हुलाक विभागमा काम छ भन्दै काठमाडौं आएका थिए तर आफ्नै छोराको हातबाट ज्यान गुमाउनुपर्ला भन्ने उनलाई के थाहा †

कुलप्रसादका दुई छोरीमा जेठी नायब सुब्बा छिन् । कान्छी हाल अस्ट्रेलियामा छिन् । श्रीमान्–श्रीमती मात्रै दिक्तेलमा बस्दै आएका थिए । मिलनले हत्याका लागि प्रहरीसँग खुलाएका तीनवटा कारण हुन्– आफ्नै असफलता, भाइ प्रविण पछिल्लो समय कुलतमा फसेको, बाबु पनि डिप्रेसनका बिरामी । यी तीनवटा कारणले आफूलाई अत्यन्तै तनाव भएको र तनाव सहन नसकेपछि सो घटना गराउने निष्कर्षमा पुगेको मिलनले बताएका छन् । बाबु र भाइको हत्यापछि आफूले पनि आत्महत्याको प्रयास गरेको तर सफल नभएको उनले बताएका छन् ।

प्रहरीको प्रारम्भिक बयानमा मिलनले आफूले धेरैपटक लोकसेवा आयोगको परीक्षा दिए पनि सफल हुन नसकेको बताएका छन् । लोकसेवा पास नभएकामा आफू धेरै निराश भएको, आफ्नै कारण बाबु पनि डिप्रेसनको सिकार भएको, बाबुले खोटाङमा आत्महत्याको प्रयास गरेकाले आफूमा बेचैन बढेको बयान उनले दिएका छन् ।

मिलनले भनेका छन्, ‘मैले लोकसेवामा खरिदार र सुब्बा पदमा ६, ७ पटक परीक्षा दिएँ, तर फेल मात्रै भएँ, यसकारण म जिन्दगीसँग दिक्दार भएँ । मलाई डिप्रेसन भयो । लगालग लोकसेवा बिग्रेपछि अब जिन्दगीमा केही नहुने भयो भनेर बिरक्तिएँ । म आफूलाई बाँच्दिनँ भन्ने लाग्थ्यो । म नबाँचेपछि बाबुआमा पनि कसरी बाँच्लान् भन्ने चिन्ता पनि मलाई हुने गथ्र्याे ।’

उनले आफूले लोकसेवामा पास हुन नसक्दा बाबु कुलप्रसादले पनि आत्महत्या प्रयास गरेको पनि बयानमा भनेका छन् । उनले भनेका छन्, ‘बुबाले मलाई धेरै नै माया गर्नुहुन्थ्यो । मलाई सरकारी जागिर खाएको देख्ने उहाँको सपना थियो । मैले प्रयाससमेत गरेको हुँ । सकिनँ त के गर्नु ? मेरो असफलताकै कारण बुबाले समेत आत्महत्या प्रयास गर्नुभयो । त्यही दिनदेखि मलाई पनि बुबालाई खुसी पार्न सकिएन भन्ने लाग्यो । सबै मारेर मुक्ति हुन्छ भनेर यो अवस्थामा पुगेको हुँ ।’

प्रहरीसँग उनले भाइ प्रविणप्रति पनि असन्तुष्टि जनाएका छन् । उनले भाइ प्रवीण सधैंजसो राति १०–११ बजे कोठा आएर सुत्ने र बिहान १०–११ बजे मात्र उठ्ने दिनचर्याले आफू आजित बनेको बताएका छन् । उनले भनेका छन्, ‘भाइले काम नै गरेन, राति अबेर सुत्ने र बिहान अबेर उठ्ने बानीले म अवाक बनिरहेको थिएँ । उसको भविष्य सम्झेर पनि म धेरै ने बेचैनी हुने गर्थें ।’

बाबु र भाइको हत्यापछि आत्महत्या गर्न भक्तपुरको बिरुवा पुगेका उनले रूखको हाँगामा पासो लगाएर आत्महत्याको प्रयास गरेका थिए । तर, हाँगा भाँचिएकाले उनी जोगिए ।

मिलनले भनेका छन्, ‘हत्यापछि म भक्तपुरकै बिरुवा गएँ, गलबन्दीको पासो लगाएर रूखमा झुन्डिएँ । तर, गलबन्दीको गाँठो फुस्कियो । भगवान्ले मलाई ‘नमर’ भनेजस्तो लाग्यो । बुबा र भाइ मरेपछि मैले आमाको रेखदेख गर्नुपर्छ भन्ने सोचें ।’

आफूले ‘नयाँ जीवन’ पाएपछि भक्तपुर दरबार स्क्वायर गएर दिनभरि बसेको, साँझ परेपछि चावहिलको सगरमाथा होटलमा कोठा लिएर बसेको उनको भनाइ छ । ‘त्यहाँ दुई रात बसेपछि मंगलबार बिहान पत्रिकामा समाचार देखें । त्यो पत्रिका बोकेर कोटेश्वरतिर गएँ । तर, त्यहाँ पुग्दा गल्ती ठाउँमा पुग्दै छु जस्तो लागेर गाडीबाट ओर्लिएँ । महाराजगन्जको गाडी चढें । महाराजगन्जको पुलिस अफिसको सरलाई पत्रिका देखाएर ‘यो मै हो’ भनें,’ उनले भनेका छन् ।

उनीमाथि कर्तव्य ज्यानको कसुरमा म्याद लिएर प्रहरीले अनुसन्धान अघि बढाउनेछ ।