काठमाडौँ, ७ जेठ । सरकारले आगामी असार १ गतेदेखि नै कक्षा ११ को पठनपाठन सुरु गर्ने निर्णय गरेको छ।
शिक्षा तथा खेलकुद मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा एक महिनाभित्रै प्रकाशन भइसक्ने सुनिश्चितता भएपछि शैक्षिक सत्रलाई नियमित बनाउन यो निर्णय लिएको हो।
मन्त्रालयको निर्णय अनुसार देशभरका सबै विद्यालय र स्थानीय तहहरूमा अनिवार्य रूपमा सूचना प्रवाह गर्नका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई आवश्यक निर्देशन समेत दिइसकिएको छ।
यसअघि एसईईको नतिजा आउने समय र कक्षा ११ को पढाइ सुरु हुने मितिबारे विद्यार्थी तथा अभिभावकहरूमा ठूलो अन्यौलता रहँदै आएको थाहा नै छ। यही अन्यौलतालाई चिर्दै शैक्षिक सुशासन कायम गर्न र पठनपाठनलाई थप प्रभावकारी बनाउन मन्त्रालयले यो तदारुकता देखाएको हो।
नयाँ व्यवस्था अनुसार असारको सुरुवातमै कक्षा ११ को पठनपाठन आरम्भ गर्दा विद्यालय शिक्षाको समग्र गुणस्तरमा वृद्धि हुने विश्वास लिइएको छ। साथै, यस कदमले विद्यालय तहका सबै कक्षाहरूको वार्षिक शैक्षिक क्यालेन्डर र पठनपाठनमा राष्ट्रिय रूपमै एकरूपता कायम गर्न मद्दत पुग्ने मन्त्रालयले जनाएको छ।