काठमाडाैं। उपभोक्ता अदालतले विमानभित्र तातो कफी पोखिएर घाइते भएकी यात्रु प्रिती थापाको पक्षमा ऐतिहासिक फैसला गर्दै कतार एयरवेजलाई २ करोड ६१ लाख ९२ हजार ४०६ रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश दिएको छ।
अदालतका अध्यक्ष तथा न्यायाधीश दिवाकर भट्टसहित सदस्यहरू गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको इजलासले मोन्ट्रियल कन्भेन्सन र उपभोक्ता संरक्षण ऐनलाई आधार मान्दै उक्त रकम भराउने निर्णय गरेको हो।
यस फैसलाअनुसार कतार एयरवेजले मोन्ट्रियल कन्भेन्सनबमोजिम २ करोड ४१ लाख ५२ हजार ४०६ रुपैयाँ र उपभोक्ता संरक्षण ऐनअनुसार थप २० लाख रुपैयाँ क्षतिपूर्ति बापत तिर्नुपर्नेछ।
पीडित प्रिती थापाले सन् २०२३ मे २६ मा काठमाडौं-दोहा-बोस्टन रुटको दुईतर्फी टिकट खरिद गरी अमेरिका यात्रा तय गरेकी थिइन्।
आफ्नो यात्रा पूरा गरी सन् २०२३ जुलाई १० मा बोस्टनबाट दोहा हुँदै काठमाडौं फर्किने क्रममा कतार एयरवेजको क्युआर-७४४ विमानभित्र चालक दलका सदस्यले उनलाई अत्यधिक तातो कफी दिएका थिए। सोही क्रममा कफी उनको पेट, तिघ्रा तथा संवेदनशील अंगहरूमा पोखिएपछि उनी गम्भीर रूपमा घाइते भएकी थिइन्।
विमान कतारको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएलगत्तै उनलाई आकस्मिक स्वास्थ्य सेवामा पुर्याएर प्राथमिक उपचार गरिएको थियो, जहाँ चिकित्सकहरूले उनलाई 'सेकेन्ड डिग्री बर्न' भएको पुष्टि गरेका थिए। नेपाल फर्किएपछि पनि उनले कीर्तिपुर बर्न अस्पतालमा भर्ना भएर लामो समयसम्म उपचार गराउनुपरेको थियो।
जलनका कारण आफूले गम्भीर शारीरिक तथा मानसिक पीडा भोग्नुपरेको भन्दै प्रितीले सुरुमा २० लाख अमेरिकी डलर क्षतिपूर्ति माग दाबी गर्दै अदालतमा मुद्दा दायर गरेकी थिइन्।
अदालतको यो फैसलाको पूर्णपाठ आएपछि कतार एयरवेजले तोकिएको क्षतिपूर्ति रकम तिर्नुपर्नेछ वा चित्त नबुझेमा ३० दिनभित्र उच्च अदालतमा पुनरावेदन गर्ने विकल्प सुरक्षित रहनेछ।