काठमाडाैं। काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ५६६ वटा सवारीसाधनलाई प्रहरीले कारबाही गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार, मङ्सिर ७ गते बिहान ६ बजेसम्मको पछिल्लो २४ घण्टाको अवधिमा विभिन्न कसुरमा संलग्न सो सङ्ख्याका सवारीसाधनमाथि कारबाही गरिएको हो।
कारबाहीमा परेका सवारीसाधनहरूमध्ये सबैभन्दा बढी तीव्र गतिमा सवारी चलाउने १२२ जना रहेका छन्। त्यसैगरी, मादक पदार्थ सेवन गरी सवारी चलाउने (मापसे) ६७ जना, सीसीटीभीमार्फत पहिचान भएका ३७ जना र ट्राफिक बत्ती उल्लङ्घन गर्ने २९ जना कारबाहीमा परेका छन्।
यसैक्रममा, सवारीको अवस्था ठीक नभएका १८ वटा, जथाभाबी हर्न बजाउने १० वटा र एकतर्फी सडकमा नियम उल्लङ्घन गर्ने ४ वटा सवारीसाधनलाई पनि कारबाही गरिएको छ। यी बाहेक अन्य विभिन्न किसिमका ट्राफिक नियम उल्लङ्घन गर्ने २७९ वटा सवारीसाधनमाथि समेत कारबाही गरिएको कार्यालयले जनाएको छ।