बन्चरो प्रहारबाट श्रीमतीसहित तीन सन्तान गम्भीर घाइते

बन्चरो प्रहारबाट श्रीमतीसहित तीन सन्तान गम्भीर घाइते

सुर्खेत । दैलेखमा घरायसी विवादका क्रममा श्रीमान्‌ले बन्चरो प्रहार गर्दा श्रीमतीसहित चारजना गम्भीर घाइते भएका छन् । चामुण्डाबिन्द्रासैनी नगरपालिका–३ पानिखोलाका ३८ वर्षीय अम्बर सलामी मगरले बुधबार बिहान श्रीमती र तीन सन्तानमाथि बन्चरो प्रहार गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार घरायसी सामान्य विवादका क्रममा अम्बरले ३५ वर्षीया श्रीमती मनीषा सलामी मगर, १२ वर्षीय छोरा तपेन्द्र, ६ वर्षीय छोरा मिलन र तीन वर्षीया छोरी करिस्माको टाउकोमा बन्चरो प्रहार गरेका थिए । बन्चरो प्रहारबाट चारैजना गम्भीर घाइते भएका छन् । घाइतेहरूलाई एम्बुलेन्समार्फत उपचारका लागि दुल्लु अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

घटनापछि प्रहरीले आक्रमणमा संलग्न अम्बरलाई नियन्त्रणमा लिएको छ । घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय दुल्लुबाट प्रहरी निरीक्षक सरोज कँडेलको कमान्डमा पाँचजनाको प्रहरी टोली घटनास्थल पुगेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।

धेरै पढिएको