काठमाडौँ । नागढुंगा–मुग्लिन सडक खण्डअन्तर्गत पर्ने घोप्टेभीरमा भोलि (शनिबार) देखि दैनिक ५ घण्टा सवारी साधन सञ्चालनमा रोक लगाइने भएको छ।
जिल्ला प्रशासन कार्यालय चितवनले एक सार्वजनिक सूचना जारी गर्दै अर्को सूचना प्रकाशित नभएसम्मका लागि प्रत्येक दिन बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म उक्त सडक खण्डमा सबै प्रकारका सवारी साधनको आवागमन पूर्ण रूपमा बन्द रहने जनाएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद शर्माद्वारा जारी सूचनाअनुसार घोप्टेभीरमा लगातार सुक्खा पहिरो खस्दा यातायात सञ्चालनमा अवरोध आउनुका साथै मानवीय क्षतिसमेत भएको छ। सोही कारण सम्भावित दुर्घटना र जोखिम न्यूनीकरण गर्न भीरमा रहेका जोखिमयुक्त ढुङ्गा तथा माटो पन्छाउने (पहिरो सफा गर्ने) कार्य सुरु गर्न लागिएको प्रशासनले स्पष्ट पारेको छ।
तोकीएको समयमा सडक पूर्ण रूपमा बन्द रहने भएकाले वैकल्पिक मार्गको प्रयोग गर्न वा सोही समयतालिकाअनुसार आफ्नो यात्रा व्यवस्थापन गर्न प्रशासनले सम्पूर्ण यात्रु, सवारी चालक तथा सरोकारवालाहरूलाई अनुरोध गरेको छ।