मङ्सिर ७ देखि ‘काठमाडौं जलवायु कार्य सप्ताह २०८३’ सञ्चालन हुने, उत्कृष्ट विद्यार्थीलाई ५० हजार पुरस्कार र सद्भावना दूतको उपाधि

मङ्सिर ७ देखि ‘काठमाडौं जलवायु कार्य सप्ताह २०८३’ सञ्चालन हुने, उत्कृष्ट विद्यार्थीलाई ५० हजार पुरस्कार र सद्भावना दूतको उपाधि

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी मङ्सिर ७ गतेदेखि १३ गतेसम्म साताव्यापी रूपमा ‘काठमाडौं जलवायु कार्य सप्ताह २०८३’ सञ्चालन गर्ने भएको छ। जलवायु परिवर्तनका स्थानीय असर न्यूनीकरण तथा अनुकूलनका लागि सामूहिक प्रयास र सहकार्यको थालनी गर्ने उद्देश्यले महानगरले यो कार्यक्रम आयोजना गर्न लागेको हो।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जलवायु परिवर्तनका चुनौती सामना गर्न स्थानीय तहका प्रमुखदेखि युवा, विद्यार्थी, वैज्ञानिक, निजी क्षेत्र र नागरिक समाजलाई एउटै मञ्चमा सहभागी गराउने तयारी गरिएको जानकारी दिए। सहर केन्द्रित जलवायुका असर घटाउन सहरस्तरीय रूपमा आयोजना हुन लागेको यो नेपालकै पहिलो प्रयास भएको दाबी गर्दै उनले यसले काठमाडौं उपत्यकालाई जलवायु उत्थानशील, समावेशी, स्वस्थ र बस्नयोग्य सहरका रूपमा विकास गर्न साझा आधार तय गर्ने बताए।

तीव्र सहरीकरणसँगै काठमाडौंले सहरी डुबान, अत्यधिक गर्मी, वायु प्रदूषण, पानीका स्रोतको कमी र फोहोरमैला व्यवस्थापनजस्ता गम्भीर पर्यावरणीय चुनौती भोगिरहेको उल्लेख गर्दै प्रवक्ता मानन्धरले यी समस्या समाधान गर्न तीनै तहका सरकार र सरोकारवाला सबै निकायबीच सहकार्य अपरिहार्य रहेको बताए। उनका अनुसार सप्ताहव्यापी कार्यक्रममा नीतिगत छलफलका साथै विज्ञानसम्मत क्रियाकलापलाई समुदायको सहभागितामा कार्यान्वयनमा लैजाने लक्ष्य राखिएको छ।

सप्ताहव्यापी कार्यक्रमअन्तर्गत पहिलो दिन नीतिगत तथा राजनीतिक नेतृत्वसँग उच्चस्तरीय संवाद र जनप्रतिनिधिहरूको राउन्ड टेबल आयोजना गरिनेछ भने दोस्रो दिन जलवायु वित्तमा केन्द्रित रहेर अन्तर्राष्ट्रिय जलवायु कोष, हरित नगर ऋणपत्र र निजी क्षेत्रको लगानी परिचालनबारे छलफल हुनुका साथै महानगरले प्राथमिकताप्राप्त जलवायु परियोजनाहरू प्रस्तुत गर्नेछ। त्यस्तै, तेस्रो दिन ऐतिहासिक सम्पदा क्षेत्रको पदयात्रा, परम्परागत हिटी प्रणालीको संरक्षण, भूमिगत जल पुनर्भरण र पानीको गुणस्तर परीक्षण प्रदर्शन गरिनेछ। चौथो दिन स्वच्छ ऊर्जा, विद्युतीय सवारीसाधन र फोहोरमैला व्यवस्थापनबारे समानान्तर सत्र सञ्चालन गरिनुका साथै टेकुस्थित बायोग्यास प्लान्टको उद्घाटन गरिने कार्यक्रम तय भएको छ।

यसैगरी, पाँचौँ दिन ‘बालबालिका तथा युवा जलवायु कार्य दिवस’ का रूपमा ५० भन्दा बढी विद्यालयमा फोहोर वर्गीकरण, वृक्षरोपण, जलवायु खेल तथा विद्यार्थीका हरित आविष्कारहरू प्रदर्शन गरिनेछ। छैटौँ दिन खाद्य प्रणाली, सहरी कृषि र परम्परागत बीउ संरक्षणबारे छलफल हुनुका साथै खुमलटारस्थित राष्ट्रिय जीन बैंकको अवलोकन, कृषकसँग अन्तरक्रिया र कौसी खेतीसम्बन्धी सिकाइ कार्यक्रम सञ्चालन हुनेछ। सातौँ तथा अन्तिम दिन नागरिक समाज तथा गैरसरकारी संस्थाको दायित्व, जलवायु न्याय, पुस्तान्तरणीय जिम्मेवारी र हिमाली क्षेत्रमा हुने क्षति तथा नोक्सानीका विषयमा संवाद गर्दै सप्ताह समापन गरिनेछ।

सप्ताहको पाँचौँ दिनको अवसर पारेर महानगरले ‘जलवायुका लागि बालबालिका भिडियो प्रतियोगिता’ समेत आयोजना गरेको छ। महानगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा कक्षा ६ देखि १२ सम्म अध्ययनरत विद्यार्थी तथा महानगरको स्थायी ठेगाना भई बाहिर अध्ययनरत विद्यार्थीले यसमा भाग लिन पाउनेछन्।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ भने सान्त्वना स्थान हासिल गर्ने ६० जनाले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन्। साथै, उत्कृष्ट १० जना विद्यार्थीलाई काठमाडौं महानगरपालिकाको ‘जलवायु परिवर्तन सद्भावना दूत’ को उपाधिसमेत प्रदान गरिने प्रवक्ता मानन्धरले जानकारी दिए।