दुर्घटना अपडेट : मृतक र घाइतेको पहिचान खुल्यो

दुर्घटना अपडेट : मृतक र घाइतेको पहिचान खुल्यो

मकवानपुर : मकवानपुरको भीमफेदी गाउँपालिका– १, भैँसेमा भएको सुमो दुर्घटनाका मृत र घाइतेको पहिचान खुलेको छ।

दुर्घटनामा तीनजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन्। मृत्यु हुनेमा दुई महिला र एक पुरुष छन्। घाइते सातैजनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।दुर्घटनामा मृत्यु हुनेमा रौतहटको चन्द्रनिगाहपुर नगरपालिका– ४ की २५ वर्षीया अनुसा लामा, सोही ठाउँकी २० देखि २२ वर्षीया जेशिका भन्ने अस्मिता तिमल्सिना र चन्द्रनिगाहपुर नगरपालिका– ३ का ५० वर्षीय बमबहादुर वाइबा रहेका छन्।

यस्तै, दुर्घटनामा चन्द्रनिगाहपुर नगरपालिका– ४ का सुमो चालक ३३ वर्षीय कालुमान लोप्चन घाइते भएका छन्। उनको ढाडमा चोट लागेको छ । यसैगरी चन्द्रनिगाहपुर नगरपालिका– ३ की १६ वर्षीया निमा थिङ, ५८ वर्षीय कान्छाध्वज थिङ, १५ वर्षीया सुमिना थिङ, १६ वर्षीया शिखा लामा, ५५ वर्षीया हरिमाया थिङ र १९ वर्षीय वेयहान रानामगर घाइते भएका छन्।

घाइतेमध्ये निमा थिङको बायाँ काँध र दायाँ हातमा, कान्छाध्वज थिङको बायाँ करङमा, सुमिना थिङ र शिखा लामाको ढाडमा तथा हरिमाया थिङको बायाँ काँधमा चोट लागेको छ। वेयहान राना मगरको टाउको र ढाडमा चोट लागेको प्रहरीले जनाएको छ। उनीहरू सबैको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ।

मकवानपुर प्रहरीका अनुसार बिहीबार बिहान करिब ८ः३५ बजे रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ज २१४३ नम्बरको यात्रुवाहक सुमो जिप हेटौँडा–भैँसे सडकखण्डको घुम्तीमा अनियन्त्रित भई दुर्घटना भएको हो। सुमो सडकबाट करिब १० मिटर तल भैँसे खोलामा खसेको थियो।