काठमाडाैं। हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसका कारण अहिले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली भएको छ भने लुम्बिनी प्रदेशको पहाडी क्षेत्रमा आंशिक बदली रहेको छ। यस्तै, तराईका केही स्थानमा तुवाँलो लागेको छ भने देशका बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशसहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भेगमा आंशिक बदली रहनेछ भने बाँकी भागको मौसम सफा रहनेछ। यद्यपि, कोशी र गण्डकी प्रदेशका उच्च हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षासँगै हिमपातको समेत सम्भावना रहेको छ।
त्यसैगरी, आज राति कोशी, मधेस र लुम्बिनी प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भेगमा आंशिक बदली रहने पूर्वानुमान छ। देशका अन्य स्थानको मौसम भने सामान्यतया सफा रहनेछ। तराईका भूभागका साथै उपत्यका र खोँचहरूमा बिहानपख हुस्सु तथा कुहिरो लाग्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।