काठमाडाैं। काठमाडौंको प्रसिद्ध तथा ऐतिहासिक धार्मिकस्थल बुढानीलकण्ठ मन्दिर परिसरमा आगामी मङ्सिर २ गतेदेखि ८ गतेसम्म भव्य श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सञ्चालन हुने भएको छ। हिन्दू धर्मावलम्बीहरूको महान् पर्व हरिबोधिनी एकादशीको अवसर पारेर आयोजना हुन लागेको यस महायज्ञमा विविध धार्मिक अनुष्ठान, प्रवचन तथा सङ्गीतमय कथा वाचनका कार्यक्रमहरू तय गरिएका छन्।
बुढानीलकण्ठ मन्दिर दसनामी मठका मठाधीश्वर श्री १००८ स्वामी निगमानन्द गिरिजी महाराजको विशेष सङ्कल्प एवं संरक्षणमा यो महायज्ञ हुन लागेको हो। महायज्ञलाई सफल र व्यवस्थित बनाउन मठाधीश्वर स्वामी निगमानन्द गिरीको प्रमुख तथा सक्रिय भूमिका रहने आयोजकले जानकारी दिएको छ।
महायज्ञमा प्रखर भागवत वक्ता पण्डित श्री विपिनकृष्ण शास्त्रीले प्रमुख कथा वाचन गर्नेछन् भने आचार्य पण्डित श्री ईश्वर रिजालले पनि कथा वाचन गर्ने कार्यतालिका रहेको छ। यी दुवै ख्यातिप्राप्त तथा अनुभवी वक्ताहरूको सुमधुर एवं आकर्षक शैलीमा सङ्गीतमय श्रीमद्भागवत कथा प्रस्तुत हुनेछ।
मङ्सिर २ गतेदेखि सुरु हुने महायज्ञ मङ्सिर ८ गतेसम्म दैनिक बिहान ८:०० बजेदेखि बेलुका ५:०० बजेसम्म सञ्चालन हुनेछ। यसैगरी, महायज्ञको पहिलो दिन अर्थात् मङ्सिर २ गते बिहान ७:४५ बजे बुढानीलकण्ठ मन्दिर परिसरबाट बाजागाजा तथा झाँकीसहितको भव्य कलश यात्रा निकालिने कार्यक्रम रहेको छ।
समाजमा धार्मिक तथा आध्यात्मिक चेतनाको विकास गर्ने, भगवान् श्रीहरिको महिमा सर्वत्र फैलाउने तथा आम भक्तजनहरूमा सनातन संस्कृतिप्रतिको आस्था अझ सुदृढ गराउने यस महायज्ञको मुख्य उद्देश्य रहेको छ। यस पवित्र आध्यात्मिक अनुष्ठानमा उपस्थित भई कथा श्रवण गरी पुण्य आर्जन गर्न सम्पूर्ण धर्मप्रेमी, श्रद्धालु तथा भक्तजनहरूमा हार्दिक अनुरोध गरिएको छ।