कार्तिक शुक्ल सप्तमी : उदाउँदो सूर्यलाई अर्घ्य दिएर चारदिने छठ पर्व सम्पन्न

कार्तिक शुक्ल सप्तमी : उदाउँदो सूर्यलाई अर्घ्य दिएर चारदिने छठ पर्व सम्पन्न

काठमाडौं।  सूर्यदेवको श्रद्धा, भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सम्पन्न भएको छ।

उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले अर्घ्य दिएपछि छठ सम्पन्न हुने धार्मिक विधि रहेको छ। यसरी घाटमा गरिने पूजालाई 'भिन्सरघाट' भनिन्छ। बिहानै घाटमा गरिने पूजा भएकाले यसलाई भिन्सरघाट भनिएको हो। सूर्योदयकालमा अर्घ्य दिई सूर्यको दर्शन गरेपछि छठ पूजा सकिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख भएअनुसार आज बिहान ०६ः१९ बजे सूर्योदय भएको थियो। सूर्यको दर्शन गर्दा भक्तजनहरू लुगासहित कम्मरसम्मको पानीमा डुब्ने विधि रहेको छ। यसरी सूर्योदय हुनुअघि कम्मरमुनिको भाग पानीमा डुबाएर सूर्यको प्रतीक्षा गरिन्छ। छठ समापनपछि आज छठ घाटमा प्रसाद वितरण गरिएको छ।

पृथ्वीमा भएका जीवको सञ्चालन र संरक्षण जल एवं सूर्यबाट भएकाले नदीलाई माता र सूर्यलाई सम्पूर्ण शक्तिको स्रोतका रूपमा मानी विशेष पूजा गर्ने गरिएको धार्मिक विश्वास छ। धर्मशास्त्रविद् प्रा. तोयराज नेपालका अनुसार कार्तिक शुक्ल पक्षमा सूर्यको पूजा गर्नाले मनोकाङ्क्षा पूरा भई इच्छाएको फल प्राप्त हुने शास्त्रमा चर्चा गरिएको छ। सूर्यषष्ठीसमेत भनिने कार्तिक शुक्ल षष्ठीमा सूर्यको पूजाआराधना गर्ने निर्देश शास्त्रमा गरिएको उनले जानकारी दिए।

यस अवसरमा सूर्य पूजा र दर्शन गरी विवाहिता महिला तथा पुरुषले पति र पत्नीको दीर्घायु एवं अविवाहिताले सुयोग्य वर र वधु प्राप्तिको कामना गर्ने गर्छन्। सन्तान प्राप्तिको कामनाले यो पर्व मनाउनेहरूको सङ्ख्या पनि धेरै छ। यो व्रतबाट मनले चिताएको पूरा हुने धेरै भक्तजनको विश्वास छ।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व शुक्रबारदेखि सुरु भएको थियो। चतुर्थीमा स्नान गरी चोखो खाएर बस्ने गरिन्छ। यस दिनबाट छठ पर्व नटुङ्गिएसम्म व्रतालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरोलगायतका खाद्यवस्तु नखाने विधि छ। कार्तिक शुक्ल सप्तमीका दिन अर्थात् आज बिहान उदाउँदो सूर्यलाई पूजासहित अर्घ्य दिएपछि यो पर्व सम्पन्न भएको हो।

मनोकाङ्क्षा पूरा हुने विश्वासमा विशेषगरी महिलाहरू छठमा कठोर व्रत गर्ने गर्छन्। विशेषगरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठ पर्व विसं २०४६ पछि काठमाडौँलगायत पहाडी क्षेत्रमा समेत मनाउन थालिएको हो। विसं २०६३ पछि भने काठमाडौँको थापाथली, गौरीघाट र रानीपोखरीमा पनि विशेष महत्त्वका साथ मनाउन थालियो। विसं २०७२ वैशाख १२ गतेको भूकम्पपछि रानीपोखरीमा भने छठ हुन छाडेको छ। पछिल्लो समय कमलपोखरीमा भने भव्य रूपमा छठ हुन थालेको छ।

छठका लागि आइतबार गुह्येश्वरी, कमलपोखरी, थापाथली, बल्खुलगायत स्थानमा निर्माण गरिएका छठ घाटलाई बेहुलीझैँ सिँगारिएको थियो। आज बिहान यी स्थलहरूमा उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्व सम्पन्न भयो। आइतबार बेलुकी अस्ताउँदो सूर्यलाई जस्तै आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन पनि व्रतालुहरू राजधानीका छठ घाटमा पुगेका थिए। धेरै व्रतालु रातभर गुह्येश्वरी–गौरीघाट क्षेत्रमा जाग्राम बसेको छठ पूजा समितिका अध्यक्ष अनिल सिंहले जानकारी दिए।

दुई दशकअघिसम्म पूर्वी तराई–मधेसका केही जिल्लामा मात्र मनाइने छठ पर्व देशव्यापी बनेसँगै यस वर्षदेखि कार्तिक शुक्ल सप्तमीका दिन आज पनि सरकारले सार्वजनिक बिदा दिएको छ। यो पर्वमा सबै धर्मावलम्बीका साथै विभिन्न समुदायको सहभागितासमेत बढ्दै गएको छ।

सर्वप्रथम छठीमाताले सूर्यदेवलाई खुसी पारी यो पर्व मनाउन थालेको धार्मिक विश्वास छ। महाभारतकालमा द्रोपदीसहित पाण्डवहरू अज्ञातवासमा रहँदा त्यो सफल होस् भनी सूर्यदेवको आराधना गरेका थिए। पाण्डवहरू मिथिलाको विराट राजाको दरबारमा बसेका बेला गरेको सूर्य पूजाको प्रभावले अज्ञातवास सफल भएको विश्वासमा यो पर्व मनाउन सुरु गरिएको भनाइ छ।

सूर्य पुराणमा उल्लेख भएअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसुयाले छठ व्रत गरेकी थिइन्। फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन्। त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको जनविश्वास रहेको छ।