गण्डकी । गत अक्टुबरमा ४१ हजार ७५८ जना विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका छन् । जुन गत वर्षको सोही महिनाको तुलनामा चार हजार ६८२ ले बढी हो ।
गत वर्षको अक्टुबरमा ३७ हजार ७६ पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिएका थिए । मुख्य पर्यटकीय याम भएकाले अक्टुबरमा बढी पर्यटक आउने गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा. रविन कडरियाले बताए ।
एक महिनाको अवधिमा भित्रिएका कुल ४१ हजार ७५८ पर्यटकमध्ये दक्षिण एसियाली मुलुकका १९ हजार २०७ र बाँकी अन्य देशका पर्यटक रहेका छन् । सन् २०२६ मा सबैभन्दा बढी गत जुनमा एक लाख आठ हजार ७०३ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका प्रमुख डा. कडरियाले जानकारी दिए ।
उनका अनुसार उक्त याममा सबैभन्दा बढी भारतीय पर्यटक आएका छन् । दश महिनाको अवधिमा सबैभन्दा कम जनवरीमा २० हजार ६३ पर्यटक भित्रिएका उनको भनाइ छ । “अक्टुबर-नोभेम्बर मुख्य पर्यटकीय याम भएकाले यतिबेला पर्यटकको संख्या बढ्ने गर्छ”, उनले भने । आयोजना कार्यालयले अन्नपूर्ण चक्रीय पदमार्गमा भ्रमण गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको छ ।
सडक मार्ग भएर बर्सेनि ठूलो सङ्ख्यामा आन्तरिक पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रने गरेका छन् । अन्नपूर्ण क्षेत्र पदयात्रा रूचाउने पर्यटककोसमेत रोजाइमा पर्दै आएको छ । संरक्षण क्षेत्रमा पर्ने अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, म्याग्दीको घोडेपानीलगायत गन्तव्यस्थलमा आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् ।
अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा समेटिएका छन् ।