पश्चिमी वायुको प्रभावले पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभावले पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना

काठमाडौं। हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेकाले हिमाली तथा पहाडी भूभागमा आंशिक बदली भएको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली क्षेत्रसहित कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगमा साधारणतया बदली रहनेछ। अन्य पहाडी तथा तराई भूभागमा भने आंशिक बदली रहने पूर्वानुमान गरिएको छ।

महाशाखाले कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने जनाएको छ। यस्तै, कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

आज राति पनि हिमाली भागमा साधारणतया बदली र कोशी प्रदेशलगायत पहाडी भेगमा आंशिक बदली रहनेछ। तराई, उपत्यका तथा खोँचका केही स्थानमा बिहानपख हुस्सु र कुहिरो लाग्ने देखिएको छ। रातिको समयमा हिमाली भूभागका साथै कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपात हुने सम्भावना छ।

सम्भावित वर्षा, हिमपात, चट्याङ र असिनाबाट उत्पन्न हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै महाशाखाले सर्वसाधारण तथा सरोकारवाला निकायलाई अद्यावधिक मौसमी सूचना र पूर्वानुमानबारे नियमित जानकारी लिन अनुरोध गरेको छ।