जनकपुरधाम र अयोध्याबीच साप्ताहिक रेल सेवा सञ्चालन हुने, रामायण सर्किट जोडिने

जनकपुरधाम र अयोध्याबीच साप्ताहिक रेल सेवा सञ्चालन हुने, रामायण सर्किट जोडिने

काठमाडाैं। भारत सरकारले नेपालको जनकपुरधाम र भारतको उत्तर प्रदेशस्थित अयोध्याबीच साप्ताहिक रूपमा प्रत्यक्ष रेल सेवा सञ्चालन गर्ने औपचारिक स्वीकृति प्रदान गरेको छ। भारतीय रेल मन्त्रालयको यो निर्णयसँगै माता सीताको जन्मभूमि जनकपुरधाम र भगवान् रामको जन्मभूमि अयोध्या सीधा रेलमार्गबाट जोडिने भएका छन्।

करिब ६०४ किलोमिटर दूरीको यो रेल सेवा जनकपुरधामदेखि अयोध्या क्यान्टसम्म सञ्चालन हुनेछ र यसले बिहार तथा उत्तर प्रदेशका विभिन्न प्रमुख सहरहरूलाई आपसमा जोड्नेछ। यो रेल सेवा सातामा एकपटक मात्र सञ्चालन हुनेछ जसमा जनकपुरधामबाट प्रत्येक शनिबार र अयोध्या क्यान्टबाट सोमबार रेल छुट्नेछ। यस रेलले अन्तिम गन्तव्यबाहेक जयनगर, मधुबनी, शिशो, सीतामढी, रक्सौल, नरकटियागन्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धाममा व्यावसायिक रूपमा यात्रु चढाउने तथा ओराल्ने सुविधा प्रदान गर्नेछ।

नयाँ रेल सेवाले नेपाल र भारतबीचको धार्मिक पर्यटनलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ। रामायण परम्परासँग जोडिएका यी दुई पवित्र स्थलहरू रेलमार्गबाट जोडिँदा तीर्थयात्री तथा पर्यटकहरूलाई प्रत्यक्ष लाभ पुग्नेछ। यसले धार्मिक पर्यटन प्रवद्र्धन गर्नुका साथै शिक्षा, व्यापार र पारिवारिक भेटघाटका लागि सीमापार यात्रा गर्ने यात्रुहरूलाई ठूलो सहजता प्रदान गर्नेछ। रेलमार्गले जोड्ने सम्पूर्ण क्षेत्रका होटल, पर्यटन व्यवसाय, स्थानीय व्यापार तथा आतिथ्य क्षेत्रमा आर्थिक गतिविधिको दायरासमेत फराकिलो बन्नेछ।

नेपाल र भारतबीच शताब्दीऔं पुरानो ऐतिहासिक, सांस्कृतिक तथा सामाजिक सम्बन्ध रहिआएको छ। धार्मिक परम्परा र सीमावर्ती समुदायबीचको निर्वाध आवागमन दुई देशको सम्बन्धका अत्यन्त महत्त्वपूर्ण आधार हुन्। भारतीय रेल मन्त्रालयले नयाँ रेल सेवाले यी ऐतिहासिक सम्बन्धहरूलाई अझ सुदृढ बनाउनुका साथै दुई देशबीचको यातायात सम्पर्क र द्विपक्षीय सहकार्यलाई गहिरो बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने जनाएको छ।